Logo
५ जेष्ठ २०८१, शनिबार
(June 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ कम्युनिष्ट पार्टीसँगको गोष्ठीबारे नेकपामा द्वन्द्व : विदेश विभागलाई नै जानकारी छैन

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच सरकार र पाटी कसरी चलाउने भनि अनुभव आदानप्रदान गर्नको लागि उच्च पदाधिकारीबीच आज अपराह्नमा गोष्ठी हुदैछ । तर नेकपाको विदेश विभागलाई भने त्यसबारेमा जानकारी नै छैन ।

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले आज हुने गोष्ठीका बारेमा थाहा नभएको बताएका छन् । नेकपाको विदेश विभाग प्रमुख वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटी र नेकपाको केन्द्रिय पार्टी स्कुल विभागको संयुक्त आयोजनमा हुन लागेको गोष्ठीमा अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका नेकपा स्कुल विभाग प्रमुख ईश्वर पोखरेल लगायतका उच्च पदाधिकारीहरु सहभागी हुँदैछन् ।

नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अन्तरक्रियामा सहभागी हुने नेताहरुको नामावली पार्टीको स्कुल विभागले तयार पारेको हो । अन्तरक्रियाबारे विदेश विभागलाई जानकारी नगराइएको र आमन्त्रणसमेत नगरिएको रिजालले बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओलगायतका नेताहरुले कार्यक्रममा प्रशिक्षण दिने जनाइएको छ ।

नेकपा स्कुल विभागका उपप्रमुख वेदुराम भुसालका अनुसार विभिन्न ७ वटा समूहमा रहेर चिनियाँ कम्युनिष्ट पार्टीसँग अन्तरक्रिया कार्यक्रम हुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको ९९ वर्ष पुगेको अवसरमा दुई देशका सत्तारुढ दलबीच पार्टी र देश सञ्चालनका बारेमा अनुभव आदानप्रदान हुन लागेको उपप्रमुख भुसालले जानकारी दिए ।

कोरोना महामारीका कारण प्रत्यक्ष अन्तरक्रिया हुन नसकेकाले भिडियोमार्फत बेइजिङबाट कार्यशाला सञ्चालन गर्न लागिएको हो । नेकपाका नेताहरु भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीबाट अन्तरक्रियामा सहभागी हुनेछन् ।

प्रकाशित मिति: Jun 19, 2020

प्रतिक्रिया दिनुहोस्