Logo
१८ बैशाख २०८१, मंगलबार
(June 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तातोपानी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १४ योजना छनोट

जुम्लाको तातोपानी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७६/७७ का लागी १४ वटा योजना छनोट गरेको छ ।

सो योजनामा गाउँपालिका–१ स्थित ग्रामीण सडक निर्माण, वडा नं २ स्थित गोरेटोबाटो निर्माण, वडा नं ३ स्थित सकड ग्राभेल तथा वृक्षरोपण, वडा नं ४ स्थित बाटो निर्माण, वडा नं ५ स्थित पाइपलाइन विस्तार, वडा नं ६ स्थित गोरेटोबाटो निर्माण, वडा नं ७ स्थित खेलकूद मैदान र बर्थिङ सेन्टर जाने बाटो मर्मत र वडा नं ८ स्थित ग्रामीण बाटो निर्माण रहेको गाउँपालिकाका रोजगार संयोजक सरिता शर्माले बताए ।

उनका अनुसार सो आयोजनाको काम सञ्चालन भइरहेको छ । रोजगारदाताको सम्पूर्ण भुक्तानी बैंकमार्फत हुने भएकाले रोजगारदाताले आयोजनामा संलग्न श्रमिकको बैंक खाता अनिवार्य हुनुपर्ने संयोजक शर्माले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत खटिएकालाई दैनिक रु ६६० का दरले पारिश्रमिक प्रदान गरिने उनले बताए ।

कार्यक्रमका लागि गाउँपालिकाका तीन हजार २६० रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् ।

सो कार्यक्रमका लागि सरकारले चालू आवमा गाउँपालिकालाई रु ५३ लाख ८८ हजार सशर्त अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाको सिञ्जा गाउँपालिकाले सो कार्यक्रममार्फत पाँचवटा योजना छनोट गरेको छ । लकडाउनले काम सञ्चालन गर्नमा कठिन भएकाले यही महिनाको अन्तिम साताबाट छनोट भएका विभिन्न वडाका योजनाका काम शुरु हुने सो गाउँपालिकाका रोजगार संयोजक इन्द्रराज गिरीले बताए ।

सो गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले चालू आवमा रु ६० लाख ८४ हजार सशर्त अनुदान दिएको गाउँपालिकाको रोजगार शाखाले जनाएको छ ।

जुम्लाको हिमा गाउँपालिकाले जेठ १० गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमद्वारा आर्थिक अवस्था कमजोर भएका १६१ जनालाई कामसहित रोजगारी दिएको छ ।

गाउँपालिकाभित्रका विभिन्न वडामा आरसिसी, गोरेटोबाटो, सिँचाइ कुलो, ढल निकास, कृषि सडक निर्माणको काम दिएको र गाउँपालिकाले तयार पारेको तथ्याङ्कअनुसार अति विपन्न र बेरोजगारलाई जारी बन्दाबन्दीको समयमा काम दिएको गाउँपालिकाका रोजगार संयोजक दीपेन्द्र पौडेलले बताए ।

कार्यक्रमका लागि गाउँपालिकाका एक हजार ७८५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन् ।

सो कार्यक्रमका लागि सरकारले चालू आवमा गाउँपालिकालाई ४२ लाख रकम सशर्त अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।

यहाँको गुठीचौर गाउँपालिका, तिला र चन्दननाथ नगरपालिकामा रोजगार संयोजक नहुँदा कुनै पनि योजना छनोट नभएको यी गाउँपालिकाले जनाएका छन् ।

मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउन सक्ने छन् ।

सरकारले आगामी आवमा पनि कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिसकेको छ ।

प्रकाशित मिति: Jun 10, 2020

प्रतिक्रिया दिनुहोस्