Logo
५ जेष्ठ २०८१, शनिबार
(June 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतबाट फर्किएर बैतडीको क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका-६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए ।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए ।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन् ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो ।

पुर्चौँडी नगरपालिका-४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

नालामा डुबेर मृत्यु

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–५ भकुण्डाका अन्दाजी ३५ वर्षीय लालबहादुर चौधरीको गन्धानालामा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार धानको बीउ छर्नका लागि युरिया मल लिएर आउँदै गरेका चौधरी नाला तर्न बनाइएको काठको फल्याक तर्ने क्रममा नालामा खस्दा डुबेर मृत्यु भएको हो ।

स्थानीय बालबालिकाले साँझपख नालामा चौधरी डुबेको देखेपछि बचाउने कोसिस गरे पनि बचाउन नसकिएको स्थानीय भाष्कर केसीले बताए ।

चौधरीले नगरपालिकाको वडा नं १५ हरितटोलका बासिन्दाको खेत अँधिया लगाएर परिवार पाल्दै आएको बताइएको छ ।

चौधरी अपाङगता भएका व्यक्तिसमेत रहेको स्थानीय बासिन्दाले बताएका छन । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

मृतक चौधरीका दुई छोरी र श्रीमती छन् ।

प्रकाशित मिति: Jun 7, 2020

प्रतिक्रिया दिनुहोस्