Logo
५ जेष्ठ २०८१, शनिबार
(May 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर कोरोना संक्रमणका कारण ५ को मृत्यु, संक्रमितको संख्या ९ सय नाघ्यो

कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

किस्ट अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार, ती व्यक्तिलाई जेठ ११ गते राति अस्पताल ल्याइएको थियो। सोही रात आईसीयूमा राखिए पनि बिहान स्वास्थ्यमा समस्या आएपछि भेण्टिलेटरमा सारिएको थियो।

ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो । बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो ।

ती चिकित्सकका अनुसार, कोरोना संक्रमणबाट ज्यान गुमाएका ती व्यक्तिको शव अहिले शवगृहमा राखिएको छ । कोरोना भाइरसबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु भए पनि औपचारिक घोषणा गर्न भने बाँकी छ ।

यसैबीच  नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् ।

योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो ।

बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

प्रकाशित मिति: May 27, 2020

प्रतिक्रिया दिनुहोस्