Logo
५ जेष्ठ २०८१, शनिबार
(May 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा कुटपिटबाट दुई जनाको मृत्यु

प्रदेश नं २ स्थित सप्तरीको डाकनेश्वरी नगरपालिका-९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

घाइते डाकनेश्वरी नगरपालिका-९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको क्रममा गए राति न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको छ ।

शनिबार साँझ उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएका मण्डलको उपचार हुन नसकेपछि बिराटनगर लगिएको थियो ।

डाकनेश्वरी नगरपालिका-९ का वडाध्यक्ष कर्णदेव चौधरीले बाटोमा घर बनाएको विषयमा मेहता परिवार र मण्डल परिवारबीच भएको विवाद र झडपमा घाइते सुखदेव मण्डलको मृत्यु भएको बताए ।

पीडित परिवारले मुकेश महतो, फुरकुन भनिने देवेन्द्र महतो, शिवनारायण महतो, उमेश महतोलगायतले कुटपिट गरेको आरोप लगाएका छन् ।

मुकेशले नयाँ निर्माण गरिरहेको घर बाटोमा परेको भन्दै रोक्न गएपछि शुरु भएको विवादले उग्ररुप लिएको प्रत्यक्षदर्शीले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ । कुटपिटबाट सुखदेव मण्डलको मृत्यु भएको लिखित उजुरी नआए पनि मौखिक जानकारी आएपछि आरोपितहरुको खोजीकार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायाब उपरीक्षक तिलक भारतीले बताए ।

यसअघि वैशाख २३ गते भएको कुटपिटमा घाइते भएका सप्तरीको महादेवा गाउँपालिका-१ बल्थीका ८० वर्षीय सुविलाल यादवको बिहीबार मृत्यु भएको थियो ।

उपचारपश्चात वैशाख २७ गते डिस्चार्ज भई घरमा बसेका वृद्धको मृत्यु भएको भन्दै एक जनाविरुद्ध उजुरी परेको र हालसम्म पक्राउ नपरेको प्रनाउ भारतीले बताए ।

प्रकाशित मिति: May 24, 2020

प्रतिक्रिया दिनुहोस्