Logo
२२ बैशाख २०८१, शनिबार
(May 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसका कारण तेस्रो मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

नेपालमा कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको पनि मृत्यु भएको छ । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

निमावि स्कुलका प्रधानाध्यापक उनी जेठ १ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो ।

कोरोना शंकास्पद देखिएपछि जेठ २ गते उनको स्वाब निकालेर पीसीआर टेस्टका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । सोमबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना भाइरस संक्रमितको संख्या ४ सय ५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी श्रीलंकन गेस्ट हाउस क्‍वारेन्टाइन लुम्बिनीमा रहेका थिए भने झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्‍वारेन्टाइन कचनकवल झापामा रहेका थिए । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षण गरिएको छ ।

प्रकाशित मिति: May 21, 2020

प्रतिक्रिया दिनुहोस्