Logo
२२ बैशाख २०८१, शनिबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालीलाई धपाएर भारतले २ देशबीचको सहमति तोडेको संसदीय समितिको निश्कर्ष

सेनाध्यक्षको भनाइ खण्डन गर्न निर्देशन

संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद । तस्वीर : रत्न श्रेष्ठ , रासस

संघीय संसद अन्तरगत प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय अतिक्रमणमा परेको भूमिबारे भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई कूटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ ।

केही दिनअघि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले नेपालले लिपुकेलकको मुद्दा अरु कसैको इशारामा उचालेको अभिव्यक्ति दिएका थिए ।

समितिको आइतबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्दै कूटनीतिक तहबाटै खण्डन गर्न निर्देशन दिएको हो ।

सत्तारुढ दल नेकपाका सांसद दीपकप्रकाश भट्टले नरभानेको भनाइ सैन्य धम्की भएको बताए । ‘भारतले सीमाबारे सेना प्रमुखलाई बोलाएको छ । यो सैन्य धम्की हो । यसबारे नेपाल सरकार बोल्नपर्‍यो’ भट्टले समिति बैठकमा भने ।

नेकपाकै सांसद सुरेन्द्र (राम) कार्कीले भारतीय सेना प्रमुखको खण्डन अपरिहार्य भएको बताए । सीमा विवादबारे भारतले सेना प्रमुखलाई बोल्न लगाएको भए पनि नेपालले त्यस्तो गर्न नहुने उनको भनाइ छ ।

‘यो राजनीतिक विषय हो, यसबारे सरकारलाई राम्रै खण्डन गराउन लगाउन पर्यो । हाम्रो राजनीतिक नेतृत्व बोल्नुपर्‍यो । हामीले पनि आर्मीलाई बोल्न लगाउन भएन’ सांसद कार्कीले भने ।

यसैबीच समितिले भारतले नेपाली नागरिकलाई नेपाल धपाएर दुई देशबीचको सहमति तोडेको निश्कर्ष निकालेको छ । नेपालमा रहेका भारतीय नागरिकलाई नेपालले र भारतमा रहेका नेपालीहरुलाई भारत सरकारले व्यवस्थापन गर्ने सहमति भए पनि भारतले नेपाली नागरिकलाई सिमानामा छाडिदिएर सहमति तोडेको निश्कर्ष निकालेको हो ।

बैठकमा सांसदहरुले आफ्ना नागरिकको व्यवस्थापन गर्न र नेपाल फर्किने वातावरण बनाउन सरकारलाई आग्रह गरे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतले नागरिक व्यवस्थापनसम्बन्धी नेपालसँग गरेको सहमति तोडेको र नेपाली नागरिकलाई बेवास्ता गरेको आशंका रहेको बताए ।

नेकपाका नेता भीम रावलले गुजरातमा रहेका नेपालीहरुले नेपाल फर्किन पाउँ भन्दै गुजरात सरकारलाई पत्र लेखेको र त्यसको जवाफमा गुजरात सरकारले नेपाल सरकारले फर्किनका लागि अनुमति दिएमात्रै आफूहरुले अनुमति दिने बताएको उल्लेख गरे ।

रावलले गुजरात सरकारलाई नेपालीहरुले लेखेको पत्र र गुजरात सरकारले दिएको जवाफी पत्रका केही हरफ पढेर सुनाएका थिए । त्यसतर्फ लक्षित गर्दै वरिष्ठ नेता नेपालले भने, ‘गुजरात सरकारको जस्तै सोच सिंगो भारतीय सरकारको हो कि, गुजरातको मात्रै हो ? बाहिर एउटा र व्यवहार अर्को हो कि ! सीमामा आइरहेका नेपाली र रेलका लागि नेपालीहरुले टिकट काटेका उदाहरणले सहमति कार्यान्वयनमा धेरै आशंका छ ।’

कांग्रेसकी सचेतक पुष्पा भुसालले भारतमा रहेका ७ लाख नेपालीले नेपाल फर्किनका लागि दबाब दिइरहेको बताइन् । उनले भारत लगायत खाडी मुलुकमा रहेका र अप्ठ्यारोमा परेका नेपालीलाई आपतकालीन रुपमा उद्धार गर्न आग्रह गरिन् ।

कांग्रेस सांसद प्रकाशमान सिंहले भारतले दुबै देशमा रहेका नागरिकको व्यवस्थापन सम्बन्धित देशले गर्ने गरी भएको भनिएको सहमति कार्यान्वयन नभएको बताए । समिति सभापति पवित्रा निरौला खरेलले नागरिक व्यवस्थापनसम्बन्धी सहमति भारतले तोडेको बताइन् ।

भारतको व्यवहारका कारण नेपालीहरु सीमामा आइरहेको भन्दै समितिले उनीहरुको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइन्मा राख्ने गरी स्थानीय तहमा पठाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्