Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छिमेकी देश भारतमा फेरि लकडाउन थप्ने मोदीको तयारी

छिमेकी देश  भारतमा फेरि लकडाउन थप्ने तयारी गरिएको छ। विभिन्न राज्यका मुख्यमन्त्रीसँगको भिडियो कन्फेरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन थप्ने संकेत गरेका हुन्।

अहिले भारतमा कोरोना संक्रमितको संख्या ७० हजार आठ सय २७ पुगेको छ भने दुई हजार दुई सय ९४ जनाको मृत्यु भएको छ। आजदेखि भने मजदुरहरुलाई घर पुर्याउन विशेष रेल सञ्चालन गरिएको छ।

कोरोना भाइरसको संक्रमण र लकडाउनको अवस्थाबारे बुझ्न मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्स गरेका थिए। उनले चौथो चरणको लकडाउन थप्ने संकेत गरे।

मोदीले मुख्यमन्त्रीहरुसँग भने, ‘पहिलो चरणको लकडाउनमा जस्तो दोस्रो चरणको लकडाउनमा कडाइ गर्नु परेन। अहिले तेस्रो चरणको लकडाउनमा जस्तो अब चौथो चरणमा गर्नुपर्ने छैन।’

भारतीय मिडियाका अनुसार, पहिलो र दोस्रो चरणको लकडाउनमा जस्तो तेस्रो चरणको लकडाउनमा समस्या नदेखिएको उनको भनाई थियो। अब चौथो चरणको लकडाउन थप खुकुलो हुने उनले बताएका थिए।

भारतमा तेस्रो चरणको मे १७ अर्थात जेठ ४ गतेसम्म लकडाउन रहेको छ। त्यसपछि पनि थप्ने तयारी गरिएको जनाएको छ। भारतका विभिन्न राज्यका मुख्यमन्त्रीहरुले पनि प्रधानमन्त्री मोदीलाई लकडाउन लम्ब्याउन सुझाव दिएका छन्।

पञ्जाबका मुख्यमन्त्री अमरिन्द्र सिंह र बिहारका मुख्यमन्त्री नितिश कुमारले लकडाउन थप्न सुझाए। त्यस्तै, तेलंगाका मुख्यमन्त्री के. चन्द्रशेखर राव, तालिमनाडुका मुख्यमन्त्री ईके पलानीस्वामीले लकडाउन जारी राखेपनि रेल सेवा सञ्चालन गर्नुपर्ने बताएका थिए।

महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरेले अझ लकडाउन लम्ब्याउनु पर्ने सुझाव दिएका थिए। उनले जुन तथा जुलाइसम्म लकडाउन जारी राख्नुपर्ने तर्क गरेका थिए।

बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले भने लकडाउनले मात्रै काम नहुने बताएकी थिइन्। लकडाउनले नागरिकलाई समस्या भएको उनको भनाइ थियो।

 

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्