Logo
५ जेष्ठ २०८१, शनिबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-मोदी वार्ताको पहल : भारतीय राजदूतलाई बोलाएर सरकारले दियो ‘कूटनीतिक नोट’

भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि नेपालले कुटनीतिक पहल अगाडि बढाएको छ । लिपुलेकको विषयमा नेपालले भारतसँग कुटनीतिक तहमा कुराकानी अगाडि बढाएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अनौपचारिक कुराकानी अगाडि बढेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् आपत्ती जनाएपछि भारतको विदेश मन्त्रालयबाट पनि विज्ञप्तिमार्फत् जवाफ आएको छ ।

तर, कुटनीतिक तहमा औपचारिक वार्ता हुन सकेको छैन । यता, परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ ।

साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक नोटसमेत दिइएको छ ।

परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जनाएको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेर निर्माण गरेको सडक हालै उद्घाटन गरेको थियो । परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरिसकेको छ ।

दुवै देशको प्रधानमनन्त्री तहमा टेलिफोन या भिडियो कन्फरेन्समार्फत् वार्ता गराउन नेपाली पक्षले पहल थालेको बुझिएको छ । यसअघि नै विदेशसचिव स्तरीय द्धिपक्षीय कुराकानीको पहल भइरहेको छ ।

कोभिड १९ का कारण तत्काल सम्भव नभएपनि लगत्तै सचिवस्तरीय कुराकानी हुने भएको छ । भारतले कोरोना भाइरससँग जुध्नु परेकाले लिपुलेकका विषयमा केही समयपछि कर्मचारी तहमा कुराकानी गर्ने चाहना व्यक्त गरेको विश्वस्त स्रोतले जनाएको छ ।

यही विषयमा दुवै देशका प्रधानमन्त्रीबीच तत्काल वार्ताको सम्भावना कमै रहेको बुझिएको छ । भविष्यमा हुने द्धिपक्षीय भ्रमण या टेलिफोन वार्तामा भने यो विषयमा कुराकानी हुनसकने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली लिपुलेकका विषयमा अझै मौन छन् । उनले यसबारे सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न खोजिरहेका छन् ।

बाहिर बोलेर भन्दा प्रधानमन्त्री तहमा कुरा गरेर या जिम्मेवार अधिकारीहरुलाई जिम्मेवारी दिएर लिपुलेकको सवालमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न प्रधानमन्त्री ओली गम्भीर भएको निकट स्रोतले बताएको छ ।

नेपालले लिपुलेक आफ्नो भुभाग भएको प्रष्ट पार्दै आपत्ती जनाइसकेको छ । संसदमा भारतको लिपुलेक हुँदै सडक निर्माण गर्ने कदमको चर्को आलोचना भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत् आपत्ती जनाइसकेको र कुटनीतिक पहल गरी सीमाको रक्षा गरिने बताएका छन् ।

यसैगरी भारतका विदशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पिथौरागढ जिल्लामा रहेको सडक भारतकै भुमीमा पर्ने दाबी गरेका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार उनले भारत र नेपालले सीमाको विषयमा छलफल गर्न मेकानिजम बनाएको र अहिले उठेका सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गरिने बताए ।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्