Logo
२२ बैशाख २०८१, शनिबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनेकौँ अड्कलबाजीबीच किम जङअन ‘सार्वजनिक कार्यक्रममा उपस्थित’

उत्तर कोरियाली नेता किम जङ-अन विगत २० दिनयता पहिलो पटक सार्वजनिक रूपमा देखिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

केसीएनए समाचार संस्थाका अनुसार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेका छन्। शुक्रवार उनी उपस्थित हुँदा उद्योगमा उपस्थित मानिसहरू “खुशीले रुन थालेको” केसीएनएले जनाएको छ।

एप्रिल १२ तारिखमा सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता नेता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए।

पुष्टि : 
उत्तर कोरियाली सञ्चारमाध्यमले उनी सार्वजनिक रूपमा देखिएको बारेमा गरेको रिपोर्टलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिँदैन। पछि सरकारी सञ्चारमाध्यमले उद्योगबाहिर किमले रिबन काट्दै गरेका तस्वीरहरू सार्वजनिक गरेको थियो।

किम पुनः सार्वजनिक रूपमा देखिएको भनिएकोबारे जिज्ञासा राख्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अहिले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिएका छन्।

केसीएनएका अनुसार कार्यक्रममा किम सहभागी हुँदा उनीसँग बहिनी किम यो-जङसहित थुप्रै उत्तर कोरियाली वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

उत्तर कोरियाली नेताले उत्तरी प्योङयाङ क्षेत्रस्थित एउटा उद्योगको कार्यक्रममा रिबन काटेका थिए। “मुलुकलाई सम्पन्नता दिलाउने दिशामा सर्वोच्च नेताले गरिरहेको नेतृत्वका लागि भन्दै कार्यक्रममा सहभागी मानिसहरू खुशीले रुन थाले,” केसीएनएले भनेको छ।

किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए ।  किमले उद्योगको उत्पादन प्रणालीसँग आफू सन्तुष्ट भएको बताए र देशको रासायनिक उद्योग तथा खाद्यान्न उत्पादनमा पुर्‍याएको योगदानका लागि कम्पनीको उनले प्रशंसा पनि गरेको केसीएनएले उल्लेख गरेको छ।

स्वास्थ्यबारे अड्कलबाजी किन?

आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल-सङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किम जङ-अनको स्वास्थ्य अवस्थाबारे अड्कलबाजी शुरू भयो।

उत्तर कोरियाली पात्रोमा किम इल-सङको जन्मजयन्ती समारोह सबैभन्दा ठूला कार्यक्रममध्ये एक हो। र, किम जङ-अन प्रायः उक्त दिन आफ्ना हजुरबुवाको चिहानस्थल पुग्ने गर्छन्।

उत्तर कोरियाली भगौडाहरूद्वारा सञ्चालित एउटा वेबसाइटको समाचारमा किम बिरामी भएकोबारे दाबीहरू गरिएका थिए। एउटा अज्ञात स्रोतले गत अगस्ट महिनायता मुटुसम्बन्धी समस्याबाट गुज्रिरहेको तर माउन्ट बेक्डुको पटकपटक भ्रमण गरेपछि अवस्था बिग्रिएको भनेर द डेली एनकेलाई बताएको थियो।

त्यसपछि एउटै स्रोतको भनाइमा आधारित समाचारमा टेकेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि खबर बनाए। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जारी हल्लालाई एप्रिल २९ तारिखमा बल पुर्‍याए जब उनले अमेरिकाका अधिकारीहरूले किमलाई पछिल्लो समय “नदेखेको” बताए।

यद्यपि दक्षिण कोरियाली सरकारद्वारा जारी एउटा वक्तव्य र चिनियाँ गुप्तचर स्रोतहरूले समाचार संस्था रोयटर्ससँग त्यसको खण्डन गरेका थिए।

के किम पहिला पनि ओझेल भएका थिए?
सन् २०१४ को सेप्टेम्बर महिनामा एउटा साङ्गीतिक कार्यक्रममा देखिएपछि उनी ४० दिनसम्म कतै देखिएनन्। अक्टोबर महिनाको मध्यतिर उनी लठ्ठीसहित पुनः देखिए। सरकारी सञ्चारमाध्यमले उनी कहाँ थिए भन्नेबारे कहिल्यै केही बताएनन्।

#BBC

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्