Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको प्रक्षेपण : आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्ने

केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा झर्ने भएको छ ।

चालु आर्थिक वर्षको आर्थिक वृ्द्धिदर २.२७ प्रतिशतमा खुम्चिने भएको हो । सरकारले चालु आवको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

तर, चालु आवको मध्यपछि शुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको विभागले जनाएको छ ।

कोरोनाले खासगरी सेवा क्षेत्रको वृद्धिदरलाई नराम्रोसँग प्रभावित बनाएको हो । अर्थतन्त्रका मूख्य तीन क्षेत्रमध्ये प्राथमिक क्षेत्रका वृद्धिदर २.५४ प्रतिशतमा खुम्चिने भएको हो ।

दि्वतीय क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर मात्र १.९९ प्रतिशत रहने भएको छ । बजेटको मध्यावधि समीक्षामा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले लक्ष्यको हाराहारीमै आर्थिक वृद्धि हात पार्ने दावी गरेका थिए ।

गत आर्थिक वर्षमा ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको विभागले चालु वर्षमा आर्थिक वृद्धिदर ४.४८ प्रतिशत बिन्दुले कम हुने प्रक्षेपण सार्वजनिक गरेको छ।

कूल गार्हस्थ उत्पादनमा २८.२ प्रतिशत हिस्सा ओगट्ने प्राथमिक क्षेत्रको वृद्धिदर गत वर्षभन्दा न्यून हुने विभागको प्रक्षेपण छ। यसमा कृषि तथा वन, मत्स्य र खानी उत्खनन् पर्दछन्।

यसैगरी द्वितीय क्षेत्रको कूल गार्हस्थ उत्पादनमा योगदान १३.७२ प्रतिशत छ। चालु वर्षमा यस क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत हुने अनुमान विभागले गरेको छ।

यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्