Logo
१६ बैशाख २०८१, आईतबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्यूठानमा बाढीले लघुविद्युत् भत्काउदा अन्धकार बन्यो दुई गाउँ

प्रदेश नं ५ स्थित प्यूठानको गौमुखी गाउँपालिकाका अर्खा र रजवारा विद्युत्विहीन बनेका छन् ।

स्थानीय नदीबाट लघुविद्युत् उत्पादन गर्दै आएका दुई गाउँका पाँच वटा लघुविद्युत् तथा पेल्टिसेटहरुको बाढीले कुलो पुर्ने तथा भत्काइएपछि १ हजार ४०० घरधुरी अन्धकारमा परेका हुन् ।

गौमुखी गाउँपालिका-३ वटा वडाका तीन लघु जलविद्युत् र दुई पेल्टी सेट गरी पाँच आयोजनाका कुलो भत्किएपछि एक हजार ४०० घरधुरी विद्युत्विहीन बनेको स्थानीयवासीले बताएका छन् ।

गतवर्षको पहिरोका कारण क्षति भएको विद्युत् संरचनाको मङ्गलबार मात्र स्थानीयवासीले मर्मत गरेर विद्युत् सञ्चालनमा ल्याएका थिए ।

मर्मत गरेको दुई दिन नबित्दै पुनः बाढीले कुलो बगाउनाका साथै पहिरोले ठाउँ ठाउँमा पुरिएको छ । गौमुखी गाउँपालिका-१ मा रहेको घटेखोला (दोस्रो) लघु जलविद्युत् १० किलोवाट, गौमुखी गाउँपालिका-२ मा रहेका एक किलोवाटको खोला खर्क पेल्टी सेट, ५०० वाटको ढुङ्ढुङखोला पेल्टीसेट र गौमुखी गाउँपालिका-३ रजवाराका ४० किलोवाट क्षमताको खराखोला र १७ किलोवाटकोे तिखाचुलीखोला लघु जलविद्युत् आयोजनाका कुलोहरु बाढीले भत्काइदिएको स्थानीयवासी जोगिन्द्र मल्लले जानकारी दिए ।

गाउँमा खाद्यान्न पिसानी मिल, कम्युटर, टिभी, कुखुरापालन, खाना पकाउनसमेत प्रयोग गर्दै आएको विद्युत् आपूर्ति ठप्प भएपछि रजवाराको जनजीवनसमेत प्रभावित भएको उनले जानकारी दिए ।

बाढीबाट भएको क्षति अहिले यकिन भएको छैन । धेरै वर्षदेखि वर्षाको समयमा विद्युत् संरचना बाढी र पहिरोले क्षति पुर्‍याउने गर्नाले गौमुखी गाउँपालिकाका अर्खा र रजवाराका गाउँलेले विद्युत् आपूर्ति बन्द हुने समस्या भोग्दै आएका छन् ।

धेरै वर्षदेखि पहिरो झरिरहेका कारण दिगो रुपमा पुनःनिर्माण हुन नसेकेको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए ।

त्यसैगरी गौमुखी गाउँपालिका–२ अर्खामा ५४ घरधुरीले प्रयोग गर्दै आएको खानोपानी आयोजना बन्द भएका छन् । तीस घरधुरी उपभोक्ता रहेको तेलाखोला खानेपानी आयोजना र २४ घरधुरीले प्रयोग गर्दै आएको जेता खोला खानेपानी आयोजनाको मुहान बाढीले पुरिदिँदा खानेपानीसमेत प्रभावित बनेको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्