Logo
१५ बैशाख २०८१, शनिबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा खाद्यान्न राहत दिन ‘खाद्य बैंक’स्थापना

प्रदेश नं ५ स्थित रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लकडाउनका कारण खाद्यान्न संकट भोगेका परिवारलाई राहत दिन ‘खाद्य बैंक’ स्थापना गरिएको छ ।

उद्योगी, व्यवसायी, नगरवासी र सहयोगी जोकसैले स्वेच्छिकरूपमा खाद्य सामग्री जम्मा गर्न सक्ने गरी खाद्य बैंकको अवधारणा ल्याइएको हो ।

नगरपालिकाले यसअघि नै नगद संकलनका लागि बैंक खाता खोलेको थियो । खाद्य बैंकमा दाताले चामल, दाल, नुन र तेल सङ्कलन गर्न सक्ने नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

बैंकको प्रधान कार्यालय नगरपालिकाको कार्यालय तथा शाखा कार्यालयका रुपमा वडा कार्यालय हुने छन् । कोरोना महामारीको कारण गरिएको लकडाउनबाट प्रभावित परिवारलाई गरिने खाद्य सहयोग कार्यक्रममा सहभागिता जनाउन चाहनेहरुले आआफ्नो वडा वा नगरपालिका कार्यालयमा दिएर सहयोग गर्न सक्ने जनाइएको छ ।

राहत कोषमा सहयोग गर्न चाहने कुनै व्यक्तिसँग नगद रकम नहुने तर खाद्यवस्तु हुन सक्ने भएकाले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंकको अवधारणा ल्याइएको नगर उपप्रमुख एवं खाद्य व्यवस्थापन समिति संयोजक जागेश्वरी चौधरीले बताए ।

बैंकमा संकलित खाद्यवस्तु आवश्यकता र औचित्यका आधारमा टोल विकास संस्थामार्फत खाद्याभाव भएका परिवारलाई वितरण गरिनेछ ।

सरकारले लिएको राहत वितरण एकद्वार नीतिमा नगरवासीका साथै सहयोगी सबैलाई सामेल गराउन सो अवधारणाले सहयोग पुर्‍याउने नगर प्रमुख घिमिरेको भनाइ छ ।

बैंकको अवधारणाले चामल पर्याप्त मात्रामा संकलन हुने नगरपालिकाको अपेक्षा छ । तिलोत्तमाका अधिकांश स्थायी बासिन्दाले आफूलाई वर्षभरि चाहिने चामल अग्रिम जोहो गरेका हुन्छन् ।

यहाँ झण्डै ६० प्रतिशत जग्गामा धानखेती हुन्छ । न्यून आय भएका परिवार तथा सबै प्रकारका मजदूरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापनाले टेवा पुग्ने नगरपालिकाको विश्वास छ ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्