Logo
१७ बैशाख २०८१, सोमबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स सञ्चालन

कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा स्वास्थ्यसम्बन्धी भइरहेका क्रियाकलाप तथा तथ्याङ्क सर्वसाधारणमा पुर्‍याउने लक्ष्य राखेको छ ।

एन्ड्रोइड मोबाइल फोनमा प्लेस्टोरमा गएर ‘गण्डकी स्वास्थ्य’ एप्स डाउनलोड गर्न सकिने निर्देशनालयले जनाएको छ । सोमबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले सो एप्सको उद्घाटन गरेका थिए ।

प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले एप्सको माध्यमबाट सर्वसाधारणसम्म  हालसम्म प्रदेशमा भए/गरेका गतिविधि पुग्ने र कोहीकसैलाई केही स्वास्थ्य समस्या आइपरेमा निर्देशनालयमा सम्पर्क गर्न सकिने बताए ।

निर्देशनालयले गण्डकी प्रदेशका हालसम्म एक हजार ७८२ जनाको कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको जनाएको छ ।

चैत महिनामा भारतलगायतका मुलुकबाट आएका सबैको कोभिड-१९ को सङ्क्रमण अवस्था जान्नका लागि सरकारले प्रदेशका ११ वटै जिल्लामा आरडिटी परीक्षण शुरु गरेको थियो ।

सोमबार साँझसम्म कास्कीमा ८०, स्याङ्जामा २०९, तनहुँ ७९, लमजुङ १०८, गोर्खा २८ र पर्वतमा २३९ जनाको आरडिटी परीक्षण गरिसकिएको छ ।

त्यसैगरी म्याग्दीमा ५२, बाग्लुङ ९११, नवलपुर ६९ र मुस्ताङमा सात जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ ।

परीक्षण गरेकाहरु सबैको नतिजा नेगेटिभ आएको बताइन्छ । प्रत्येक जिल्लाका स्थानीय तहसम्म पुगेर विदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण गर्ने गरिएको निर्देशनालयका निर्देशक डा विनोविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्