Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोदावरी नगरपालिकाले गर्यो ५१ लाखको आकस्मिक कोष खडा

बाग्मती प्रदेश स्थित गोदावरी नगरपालिकाले रु ५१ लाखको आकस्मिक कोष खडा गरेको छ । कोभिड–१९को सङ्क्रमणबाट नगरवासीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी यसको न्यूनीकरणका लागि उक्त कोष खडा गरिएको हो ।

कोषमा सहयोग गर्न चाहने इच्छुक सङ्घसंस्था, व्यवसायी, बुद्धीजिवी, सहकारीलगायतका महानुभावहरुलाई नेपाल बैंक लिमिटेड, चापागाउँ शाखामा रहेको ०७८००१००६२८०२३०००००१ नं।को खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

६ स्थानबाट एम्बुलेन्स सेवा शुरु गरिने

नगरपालिकाले नगर क्षेत्रका छ स्थानबाट एम्बुलेन्स सेवा शुरु गर्ने भएको छ । कोही कसैलाई कोराना भाइरसको सङ्क्रमण वा आशङ्का भई तत्काल स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुपरेमा एम्बुलेन्स सेवाका लागि उक्त निर्णय गरिएको हो ।

नगरपालिकाले वडा नं ३ गोदावरी, ५ लेले, ६ आनन्दवन अस्पताल, ८ डुकुछाप, ११ बज्रबाराही र १२ ठेचोबाट सो सेवा सञ्चालन गरिने जनाएको छ ।

नगरपालिकाका अनुसार यदि यी एम्बुलेन्स सेवा व्यस्त रहेमा नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपपमुख मुना अधिकारीद्वारा प्रयोग गर्दै आउनुभएका सवारी साधनलाई समेत एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्नेछ ।

४ हजार ४८० बोरा चामल मौज्दात

नगरपालिकाका प्रमुख महर्जनसहितको टोलीले बजार अनुगमन गर्दा प्याङ्गाउँ–चापागाउँ–ठेचोमा अवस्थित खाद्यान्न स्टोरहरुमा चार हजार ४८० बोरा चामल आजसम्म मौज्दात रहेको बताएका छन् ।

मुलुकमा कोभिड–१९ को त्रास बढेसँगै यी क्षेत्रमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन नदिने उद्देश्यका साथ गरिएको अनुगमनका क्रममा सो मौज्दात रहेको पाइएको छ ।

अनुगमनको क्रममा ३२५ बोरा दाल, ३२४ बोरा चिनी, ७४५ बाकस तेल, १४२ बोरा नुन, केही बोरा गेडाडुडी र मैदाको पिठो पनि मौज्दात रहेको नगरपालिकाले जनाएको छ ।

यसैगरी गोदावरीले यी स्टोरका अलवा अन्य किराना स्टोरमा पनि केही समयका लागि आवश्यक खाद्यन्न रहेको जानकारी गराएको छ ।

अनुगमन टोलीमा प्रमुख महर्जनसहित वडाध्यक्ष जगतबहादुर महर्जन, निलबहादुर देशार, दर्शनकुमार विष्ट, महानगरीय प्रहरी परिसर चापागाउँका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णराज ओझा र गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगनाथ महर्जन रहेका थिए ।

कोरोना प्रतिकार्य टोली गठन

नगरपालिकाले महानगरीय प्रहरी वृत चापागाउँका १५ प्रहरी सम्मिलित कोराना प्रतिकार्य टोली गठन गरी तत्काल परिचालन गरिने व्यवस्था मिलाएको छ । यी प्रहरी टोलीले कोभिड–१९ विरुद्धका विभिन्न काम गर्नेछन् ।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्