Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीको तल्लोसोराडमा भारतसँग जोडिएका नाका बन्द, नाकामा थप व्यवस्थित सहायता कक्ष

विश्वभरि कोरोना भाइरसको त्रास फैलिरहेका बेला सुदुरपश्चिम प्रदेश स्थित बैतडीको तल्लोसोराडमा भारतसँग जोडिएका सबै नाकाघाट बन्द गरिएका छन् ।

शिवनाथ गाउँपालिकाको नागार्जुनघाट र कुस्मौदघाट तथा पञ्चेश्वर गाउँपालिकाको बलारघाट, ढोयाघाट, रोलघाट, डिम्बरघाट, पञ्चेश्वरघाट, विनायकघाट र धरमघाट बन्द गर्ने निर्णय भएको हो ।

गत फागुन २९ गते बसेको बैठकले शिवनाथ गाउँपालिका–१ र पञ्चेश्वर गाउँपालिकाका–३ घाट बन्द गर्ने र अरु घाट सञ्चालनमा ल्याउने निर्णय गरेको भए पनि खुला राख्ने निर्णय भएको थियो ।

खुला राख्ने घाटमा पनि उपकरणको व्यवस्था गर्नसक्ने अवस्था नभएपछि घाट बन्द गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए ।

उनले भने, “कोरोनाको विश्वव्यापी सङ्क्रमणको जोखिम हेरर हामीले गाउँपालिकासँग जोडिएका सबै घाट बन्द गर्ने निर्णय गरेका छौँ । यो निर्णय कार्यान्वयनमा सबै सरोकारवालालाई आग्रहसमेत गरेका छौँ ।”

बिहीबार बसेको गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले घाट बन्द गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताए ।

यसका साथै कोरोनाको सङ्क्रमणबाट बच्नका लागि व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए ।

यस्तै पञ्चेश्वर गाउँपालिकाको पनि बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँपालिकासँग जोडिएका घाट बन्द गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले बताए ।

उनले भने, “डुङ्गा तथा ट्युबबाट महाकाली नदी वारपार गर्ने सबै घाट बन्द गर्ने निर्णय गरेका छौँ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि यो निर्णयमा पुगेका हौँ ।”

घाट बन्द गर्ने निर्णयमा सहयोग गर्न सबै सरोकारवालालाई आग्रहसमेत गरेको उपाध्यक्ष भट्टले जानकारी दिए ।

झुलाघाट नाकामा सहायता कक्ष थप व्यवस्थित

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई थप प्रभावकारी बनाइएको छ । हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक पोशाकको व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम कम होस् भनेर पोशाकको व्यवस्था गरिएको उनको भनाइ थियो ।

झुलाघाट नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा एक हजार बढी नागरिकको स्वास्थ्य परीक्षण गरिसकिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले जानकारी दिए ।

भारतबाट नेपाल फर्किने नागरिकलाई स्वास्थ्य परीक्षण गराएर मात्र फर्किनसमेत आग्रह गरिएको उनले बताए । झुलाघाटमा गत फागुन १० गतेदेखि हेल्थ डेस्क सञ्चालनमा छ ।

 

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्