Logo
२१ बैशाख २०८१, शुक्रबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सरकारबाट उद्धार नभए भागेरै नेपाल आउँछौं’

चीनको ताक्लाकोटमा अलपत्र नेपालीले सरकारबाट उद्धार नभए ‘भागेरै’ नेपाल छिर्ने बताएका छन् । त्यहाँ रहेका १ सय ४८ जनामध्ये २३ जनाले ‘जसरी पनि घर फर्कने’ तयारी गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट डराए पनि घर फिर्न हिमपातले बाटो अवरुद्ध गरेकाले हिम्मत नगरी उनीहरू उतै रहेका हुन् ।

उक्त क्षेत्रमा हालसम्म कसैलाई पनि संक्रमण छैन । संक्रमणबाट जोगिन सतर्कताका लागि केही समय पातलिएको ताक्लाकोट बजारमा पुनः मानिसको आवतजावत बाक्लिन थालेपछि डराएका नेपालीहरू घर फर्कन खोजेका हुन् ।

‘हामी एक साताअगाडि नै हिँड्ने भनेर तयारी बसेका थियौँ,’ हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका कर्मा तुण्डुप लामाले भने, ‘सरकारले उद्धार गर्छ, जोखिम मोलेर नजानू भनेर खबर आयो, रोकियौं । दुई-चार दिन अझै पर्खन्छौं । केही व्यवस्था भएन भने आफ्नै तरिकाले फर्कन्छौं ।’ उनले आफूसहित हुम्ला खगाल गाउँका फोक्देल लामा र हुम्लाको मुचुका थुप्देन लामा साताअघि नै नेपाल फर्कन खोजेको बताए ।

स्थानीय व्यापारीको संस्था कैलाश व्यापार संघकी उपाध्यक्ष ल्यामु लामाले नेपाल सरकारसँग उद्धारका लागि अनुरोध भइरहेकाले ज्यानको जोखिम मोलेर नजानुस् भनेपछि रोकिएको कर्माले बताए ।

‘हाम्रो एक जना साथी दुई साताअगाडि एक्लै हिँडेर नेपाल गइसकेको छ,’ भागेरै भए पनि आउने तयारीमा रहेका मुचुका थुप्देन लामाले भने, ‘हामी तीन जना भएपछि पुगिहालौँला भनेर हिँड्न लागेका छौँ ।’

ताक्लाकोटबाट हुम्ला प्रवेश गर्ने बाटामा पर्ने करिब १५ हजार फिट उचाइको नारालेकमा १० फिटभन्दा बढी हिउँ छिचोल्दै केही दिनअघि एक जना नेपाली भागेर हुम्ला आएका थिए ।

उनी घर आइपुगेर बिरामी परेका छन् ।ताक्लाकोटमै रहेकी संघकी उपाध्यक्ष ल्यामु लामाले जान खोजेकालाई अनुरोध गरेर रोकिराखेको बताइन् । उनले भनिन्, ‘दिनदिनै कहिले उद्धार हुन्छ भनेर मलाई सोध्न आउँछन् । तपाईंहरू सक्नुहुन्न भने हामी आफ्नै तरिकाले जान्छौं भन्छन् । नेपालबाट केही खबर आएको छैन ।’ २३ जनाले मात्र घर फर्कन चाहेको उनले बताइन् ।

कान्तिपुरबाट साभार ।

 

प्रकाशित मिति: Mar 12, 2020

प्रतिक्रिया दिनुहोस्