Logo
२० बैशाख २०८१, बिहीबार
(February 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाक्लो हिउँका कारण रक्षामन्त्रीको ‘मिसन’ असफल : हवाई निरीक्षण गरेर सदरमुकाम फर्के

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गएको एक जनप्रतिनिधि टोलीले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्रको हवाई निरीक्षण गरेर दार्चुला सदरमुकाम खलङ्गा फर्केका छन् ।

बाक्लो हिउँका कारण अतिक्रमित क्षेत्र भन्दा वरै नेपाली भूभागमा हेलिकोप्टर ल्याण्ड गर्ने प्रयास समेत सफल हुन नसके पछि उक्त टोली फर्केका हुन् । उपप्रधानमन्त्री पोखरेलको साथमा दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश ठगुन्ना, प्रदेश सभा उपसभामुख निर्मला बडाल (जोशी), प्रदेश सभा सांसद तथा उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठ लगायत थिए ।

‘त्यस क्षेत्रमा बाक्लो हिउँ परेको रहेछ, त्यसैले उहाँले हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर सदरमुकाम फर्कनु भएको छ’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी युगनाथ पौडेलले भने, ‘तर, भारतले अतिक्रमण गरेका क्षेत्र र बनाएका ब्यारेकहरु उहाँहरुले हेलिकोप्टरबाटै निरीक्षण गर्नुभयो ।’

प्रजिअ पौडेलका अनुसार, कालापानी क्षेत्रको निरीक्षणका लागि रक्षामन्त्री पौडेलको टोली सदरमुकाम खलङ्गाबाट विहान ८ बजे नेपाली सेनाको हेलिकोप्टरबाट त्यसतर्फ लागेको थियो र सभा ९ बजे सदरमुकाम फर्किसकेको थियो । ‘अतिक्रमित भूभाग रहेको ब्यास क्षेत्रमा हेलिकोप्टरबाट १० मिनेटमा नै पुग्न सकिन्छ’ उनले भने, ‘हेलिकोप्टर केही समय आकासमै होल्ड गरेर उपप्रधानमन्त्रीज्यूले त्यस क्षेत्रको निरीक्षण गरेर फर्कनुभएको हो ।’

उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठका अनुसार हेलिकोप्टर उचाईमा रहेपनि हेलिकोप्टरबाट भारतद्वारा अतिक्रिमित क्षेत्रमा बनाइएका ब्यारेकहरु स्पष्टसँग देखिएका थिए । श्रेष्ठले भने, ‘अतिक्रमित क्षेत्रमा तीन–तीन किलोमिटरको दुरीमा भारतीय पक्षले ब्यारेक बनाएको रहेछ ।’

उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रेस सङ्गठन नेपाल दार्चुलाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा । तस्वीर : नरेन्द्रसिंह कार्की

हिमपातका कारण मौसम प्रतिकूल रहेपनि अतिक्रमित क्षेत्रमै हेलिकोप्टर अवतरण गर्ने योजना भने उपप्रधानमन्त्री नेतृत्वको टोलीको थिएन । अतिक्रमित क्षेत्र भन्दा वरै अनुकूल ठाउँमा अवतरणको योजना बनाइएको थियो ।

तर, अत्याधिक हिउँका कारण अतिक्रमित क्षेत्र भन्दा करिव १५ किलोमिटर वरै रहेको छाङ्रु गाउँमा समेत हेलिकोप्टर अवतरण गर्न योजना समेत सफल भएन । त्यसैले, केही समय आकासमै हेलिकोप्टर ‘होल्ड’ गरी छाङ्रु गाउँको निरीक्षण गरिएको थियो ।

श्रेष्ठले भने, ‘आजको निरीक्षणबाट त्यहाँ बीओपी राख्न अनुकूल हुने देखिएको छ ।’ सरकारले भारतद्वारा अतिक्रमित कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको पोष्ट राख्ने निर्णय यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति: Feb 17, 2020

प्रतिक्रिया दिनुहोस्