Logo
१८ बैशाख २०८१, मंगलबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको आधिकारीक नाम दियो

कोरोना भाइरसलाई डब्लुएचओले आधिकारिक कोभीड-नाइनटिन(COVID-19) नाम दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चीनमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई आधिकारिक नाम दिएको छ ।

अब कोरोनाभाइरसको संक्रमणलाई कोभीड–नाइनटिन भनिने छ । डब्लुएचओले यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै यसलाई रोक्ने सम्भावना अझै रहेको जिकिर गरेको छ ।

‘हामीले यस रोगलाई नाम दिएका छौँ – कोभीड–नाइनटिन,’ मङ्गलबार जेनेभामा पत्रकारहरुसँग कुराकानी गर्दै डब्लुएचओका प्रमुख तेद्रोस अधानोम घेब्रेइससले भने ।

तेद्रोसका अनुसार कोभीड–नाइनटिनमा ‘सीओ’ को अर्थ कोरोना, ‘भीआई’ को अर्थ ‘भाइरस’ र ‘डी’ को अर्थ डिजिज (रोग) हो ।

१९ को अर्थ यो रोग शुरुवात भएको वर्ष हो । यो रोग सन् २०१९ को डिसेम्बर ३१ मा सबैभन्दा पहिले पत्ता लागेको थियो ।

यसअघि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यसलाई नोभेल कोरोनाभाइरस निमोनिया (एनसीपी) नाम दिने बताएको थियो ।

यता, यस रोगबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारसम्म १ हजार १ सय १३ पुगेको छ । मंगलबार मात्र थप ९७ जनाले ज्यान गुमाएका छन् ।

यस रोगको केन्द्रविन्दु मानिएको हुबेइमा नै ९४ जनाले ज्यान गुमाएका थिए ।
चीनभर थप २ हजार १५ जना नयाँ बिरामी थपिएका छन् ।

जनवरी ३० यता नयाँ बिरामी थपिने दर यो सबैभन्दा न्यून हो । हालसम्म यसबाट ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्