Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै नेपाल आयल निगम

नेपाल आयल निगमले ३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै विगत केही वर्षदेखि नाफामा जान थालेपछि कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको छ । निगमको बिहीबार बसेको बैठकले आर्थिक वर्ष ०७५–७६ को नाफाबाट एक प्रतिशत रकम बोनसबापत वितरण गर्ने अधिकार व्यवस्थापनलाई दिएको हो । त्यति मात्रै होइन, निगमको शनिबार आयोजित ५०औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई थप एक महिनाको तलब पुरस्कारस्वरूप दिने घोषणा गरियो ।

चार वर्षअघिसम्म निगमको सञ्चित घाटा ३५ अर्ब रुपैयाँ थियो । थप ३६ अर्ब रुपैयाँ ऋण थियो । यसबीचमा निगम सञ्चित नोक्सानी र ऋण चुक्ता गरेर चार वर्षदेखि निरन्तर नाफामा छ । खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बेची निगमले नाफा आर्जन गर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि बढाउने, तर बाहिर घट्दा यहाँ मूल्य नघटाएर चर्को नाफा कमाउने रणनीति निगमले अँगाल्दै आएको छ । गत आव ०७५र७६ मा करकट्टीपछिको खुद नाफा चार अर्ब कमाएको निगमले चालू आवको अहिलेसम्म तीन अर्बभन्दा बढी नाफा कमाइसकेको छ ।

सञ्चालक समितिले बोनस वितरण गर्ने निर्णय गर्दै सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई चिठी पठाउने निर्णयसमेत गरेको स्रोतले बतायो । ‘नाफाको एक प्रतिशत रकमबाट सबै कर्मचारीले एक महिनाबराबरको रकम बोनसबापत पाउने गरी सञ्चालक समितिबाट निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्न अर्थबाट सहमति लिन निगमले पत्राचार गर्ने भनिएको छ ।’

अर्थलाई पत्राचार गरिदिन निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोधसहितको पत्रसमेत पठाइसकेको छ । यस विषयमा २९ गते डाकिएको निगमको वार्षिक साधारणसभाबाट अन्तिम निर्णय गराउने निगमको योजना छ । स्रोतका अनुसार बोनस बाँड्न दिन अर्थ मन्त्रालय पनि सकारात्मक देखिएको छ । निगमको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव उदयराज सापकोटा छन् ।

नयाँ पत्रिकमा खबर छ ।

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्