Logo
२१ श्रावन २०७७
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगर कप भलिबल : ललितपुर र चन्द्रागिरि उपाधिका लागि भिड्ने

यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् ।

ललितपुरले गोकर्णेश्वर नगरपालिकालाई ३-० सेटले तथा चन्द्रागिरिले विदुर नगरपालिकालाई ३-० सेटले नै पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा बुधबार भएको सेमिफाइनल खेलमा ललितपुरले गोकर्णेश्वरलाई २५-१३, २५-१३ र २५-१६ अङ्कले हराएर फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा चन्द्रागिरिले विदुरलाई २५-१४, २५-१३ र २५-१६ अङ्कले पराजित गरी फाइनलमा पुगेको हो ।

यस्तै महिला भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा गोकर्णेश्वर ३-१ सेटले विजयी भयो । गोकर्णेश्वरले सो खेल २३-२५, २५-१५, २५-१० र २५-१७ अङ्कले हराएको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक निलम बज्राचार्यले जानकारी दिए ।

यसैगरी पुरुष भलिबलतर्फ चौतारा नगरपालिका, महालक्ष्मी नगरपालिका, ललितपुर महानगरपालिका र कमलामाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा चौताराले बनेपा नगरपालिकालाई २३-१९, २५-१७ र २५-२१ अङ्कले हराउँदै सेमिफाइनको यात्रा तय गरेको हो ।

यस्तै महालक्ष्मीले गोकर्णेश्वरलाई २२-२५, २३-२५, २५-१९, २५-२१ र १५-१२ अङ्कले पराजित गरी अन्तिम चारका लागि स्थान पक्का गरेको हो । अर्को क्वाटरफाइनलमा आयोजक ललितपुर महानगरपालिकाले कागेश्वरीलाई २२-२५, २५-२०, २५-१६ तथा २५-१३ अङ्कले हराएर सेमिफाइनल पुगेको हो ।

अन्तिम क्वाटरफाइनलमा कमलामाईले पनौती नगरपालिकालाई २५-१८, २५-२० र २६-२४ अङ्कले हराएर सेमिफाइनल प्रवेश गरेको संयोजक बज्राचार्यले बताए । चौतारा र महालक्ष्मीबीच तथा ललितपुर र कमलामाईबीच आज सेमिफाइनल खेल हुनेछ ।

ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी छन् । पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र तथा चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: २४ पुष २०७६, बिहीबार १४:४६

प्रतिक्रिया दिनुहोस्