Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रेल्वे विधेयक : रेल चालक बन्न प्लस टू पास र ५ वर्ष सहचालक अनिवार्य

काठमाडौं : रेल सेवा विस्तार गर्ने सरकारी योजनाअनुरुप सरकारले रेल्वे ऐन निर्माण गरिरहेको छ । शुक्रबार सरकारले राष्ट्रिय सभामा दर्ता गरेको रेल्वे विधेयकमा रेल चालकले कम्तिमा माध्यमिक तह ( दश जोड दुई) पास गरेको र पाँच वर्ष सहचालकको रुपमा काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ।

रेल चालक हुनका लागि रेल्वे बोर्डबाट मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।

रेल चालक हुन २५ वर्ष र सहचालक हुन २० वर्ष उमेर भएको हुनुपर्ने छ । सरकारले ऐनमै २० वर्ष नपुगेको व्यक्ति सहचालक र २५ वर्ष नपुगेको व्यक्ति चालक हुन नपाउने प्रस्ताव गरिएको छ । त्यस्तै ५० वर्ष पुगेको व्यक्ति दुवै पदका लागि अयोग्य हुनेछ ।

सरकारले रेल्वे सञ्चालनका लागि जाँचबुझ गराउनु पर्ने व्यवस्था समेत गरेको छ। बोर्डले रेल्वे सञ्चालन गर्न प्राविधिक तथा सुरक्षाको दृष्टिकोणले उपयुक्त भए वा नभएको सम्बन्धमा विशेषज्ञद्वारा समय/समयमा आवश्यक जाँचबुझ गराउनुपर्ने व्यवस्था गरिएको छ । बोर्डले यात्रीको भाडा र यात्रीका मालसामान ढुवानी तथा विलम्ब शुल्क तोक्ने व्यवस्था गरिएको छ ।

त्यस्तै भाडा तथा शुल्क किताबको समेत व्यवस्था गर्नुपर्ने छ। बोर्डले भाडा तथा शुल्कसम्बन्धी व्यवस्थालाई नियमित र व्यवस्थित गर्न भाडा तथा शुल्क (ट्यारिफ) किताबको व्यवस्था गर्नुपर्ने रेल्वे ऐनमै राख्ने प्रस्ताव सरकारले गरेको छ।

सरकारले रेल्वे सेवालाई व्यवस्थित बनाउन रेल आइपुग्ने तथा प्रस्थान गर्ने समय तालिका र एउटा स्टेशनबाट अर्को स्टेशनसम्म पुग्न लाग्ने भाडा दर सम्बन्धित यात्रीको जानकारीको लागि अनिर्वाय रुपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्