Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका वाणिज्य बैंक ह्याकरको निसानामा,पाँच अर्ब लुट्ने योजना तुहियोः मुख्य एजेन्ट पक्राउ

नेपालका वाणिज्य बैंक ह्याकरको निसानामा परेका छन् । अर्काको नामको खाताबाट रकम ट्रान्सफर गरी चोरी हुने क्रम बढेको छ । यसैक्रममा नेपालको वित्तीय संस्था ह्याक गरी करोडौँ रुपैयाँ चोरी गर्ने अन्तर्राष्ट्रिय गिरोहका मुख्य सहयोगी दीपक नेपाल पक्राउ परेका छन् । मोरङ रंगेली–२ का ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले शनिबार काठमाडौंबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार नाइजेरियन नागरिक ‘कालेदाइ’ भनिने पिटर हर्मन असेन्गाले नेपालकै सहयोगमा कृषि विकास बैंकको ट्रेजरी ह्याक गरी पाँच अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । पहिलो चरणमा उनीहरू बैंकको चार करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न ११ व्यक्तिको बैंक खातामा ट्रान्स्फर गर्न सफल भइसकेका थिए । दीपकको बैंक खातामा एक करोड रुपैयाँ ट्रान्स्फर भएको थियो ।

 

गल्फुटारस्थित कृषि विकास बैंकको शाखा कार्यालयबाट आइतबार दीपकले ट्रान्स्फर भएको सोही रकम सहयोगीमार्फत झिक्दैगर्दा पक्राउ परेका हुन् । महाशाखाका एसपी मुकेशकुमार सिंहले सहयोगीमार्फत रकम झिक्ने क्रममा उनी पक्राउ परेको जानकारी दिए । ‘गल्फुटारस्थित कृषि विकास बैंकको शाखा कार्यालयमा उनको सहयोगी चेक साट्न आएको खबर प्राप्त भयो । उनले एक सहयोगीलाई चेक साट्न पठाएका रहेछन् । त्यहीवेला उनलाई पक्राउ ग९यौँ । उनैमार्फत दीपक नेपाल समातिएका हुन्,’ उनले भने ।

सामाजिक सञ्जालमार्फत साढे १४ करोड ठगी
प्रहरीका अनुसार नेपालकै सहयोगमा पिटरले सामाजिक सञ्जाल भाइबर, इमो, फेसबुक र ह्वाट्सएप प्रयोग गरी १५ नेपालीबाट १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ ठगी गरेका थिए । यस धन्दाका लागि पिटरका खास सहयोगी ब्रिटिस नागरिक स्मिथ मोरिस थिए । उनीहरूले नेपालमा धन्दा सञ्चालन गर्न ४० एजेन्ट नियुक्त गरेको खुलेको थियो । दीपक नेपाल तिनैमध्येका एक हुन् ।

 

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बैंक ह्याक मात्र नभई सामाजिक सञ्जाल दुरुपयोग गरी करोडौँ रुपैयाँ ठगी गर्न अन्तर्राष्ट्रिय गिरोहलाई नेपालबाट सघाउने मुख्य अभियुक्त दीपक नेपाल नै रहेको बताए । ‘कृषि विकास बैंक ह्याक गरी अर्बौँ रुपैयाँ चोरी गर्ने कार्यमा अन्तर्राष्ट्रिय गिरोहलाई नेपालबाट सघाउने दीपक नै रहेको खुलेको छ । त्योसँगै सामाजिक सञ्जाल प्रयोग गरी १५ जना नेपालीबाट १५ करोड रुपैयाँभन्दा धेरै करम ठगी गर्ने कार्यमा पनि यसैले सहयोग गरेको देखिन्छ,’ थापाले भने ।

१७ वाणिज्य बैंक प्रहरी निगरानीमा
सामाजिक सञ्जालका साथै कृषि विकास बैंक ह्याकिङ प्रकरणमा एउटै समूह जोडिएपछि प्रहरीले यी समूहबाट कारोबार भएका १७ वटा वाणिज्य बैंकलाई निगरानीमा राखेको छ । कृषि विकास बैंक काण्डमा जोडिएका नाइजेरियन नागरिक पिटर हर्मन असेन्गाको संलग्नता पछिल्लो सामाजिक सञ्जालमार्फत ठगी प्रकरणमा समेत जोडिएको देखिएपछि प्रहरीले बैंक ह्याकिङ र सामाजिक सञ्जालबाट भइरहेको ठगीलाई सँगसँगै अनुसन्धान गरिरहेको छ । नेपाली एजेन्टले बैंक अफ काठमाण्डू, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन्स, नबिल, लुम्बिनी विकास, माछापुच्छ्रे, एसबिआई, नेपाल बंगलादेश, ग्लोबल आइएमई, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंकमा खाता खोलेर कारोबार गरेको पाइएको छ ।

चिनियाँलाई एक–एक हजार जरिवाना, निष्कासनको तयारी
अन्तर्राष्ट्रिय साइबर अपराधको आरोपमा पक्राउ परेका एक सय २२ चिनियाँलाई सरकारले निष्कासनको तयारी थालेको छ । उनीहरूमाथि प्रहरी अनुसन्धान सकिएकाले निष्कासन गर्न लागिएको हो । पक्राउ परेकाहरूले नेपालमा गरेको कुनै कसुर नभेटिएको प्रहरीको दाबी छ । यद्यपि, प्रहरी स्रोत भने उनीहरूमाथि विस्तृत अनुसन्धान नै नभएको बताउँछ ।नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्