Logo
६ जेष्ठ २०८१, आईतबार
(December 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालापानीबारे भारतसँग वार्ता टर्यो : मोदीले ओलीको विशेष दूतसँग कुरा नगर्ने

सरकारले सीमा समस्या समाधानका लागि भारतसँग तत्काल वार्ताको पहल गरेपनि त्यो सम्भावना टरेको छ । कालापानीलगायत सीमा समस्याका बारेमा राजनीतिक तहमै वार्ताको पहल गरिएपनि तत्काल त्यसको सम्भावना नदेखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीको विषयमा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारको विशेष दूतका रुपमा भारत पठाउने चाहेपनि भारतीय पक्षले गम्भीरता नदेखाएको बुझिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटी त्यसबारे कुराकानी गर्ने पहल भएपनि भारतीय पक्षले गम्भीरता नदेखाएको हो । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण अधिकांश समय आराम गर्नुपर्ने अवस्थामा छन् ।

उनले विदेश भ्रमण गरिहाल्ने अवस्था पनि छैन । ओलीको भारत भ्रमणको सम्भावना पनि तत्काल देखिएको छैन । प्रधानमन्त्री तहमा यसबारे छलफल हुने देखिएको छैन ।

त्यसकारण पनि कालापानीलगायत सीमा समस्याको विषयमा दुवै पक्षबीच राजनीतिक र कुटनीतिक तहमा गम्भीर वार्ता हुने अवस्था टरेको हो ।

परराष्ट्र मन्त्रालयमार्फत् कुटनीतिक छलफल गर्ने प्रयास भएपनि भारतमा विदेश सचिव सेवानिवृत्त हुने भएकाले यो विषयमा प्रवेश गर्न नचाहेको बुझिएको छ ।

भारतीय विदेश सचिव विजय गोक्खे उमेर हदले सन् २०२० को २४ जनवरीमा सेवानिवृत्त हुँदैछन् । विदेश सचिव परिवर्तन हुने भएकाले अबको दुई महिना सीमाबारे कुटनीतिक तहमा पनि छलफल हुने अवस्था नरहेको बुझिएको छ ।

परराष्ट्र मन्त्रालयले कुटनीतिक तहबाट सीमा समस्याको हल खोजिने भनेपनि नेपालको तर्फबाट पनि बाहिर बढी हल्लामत्र भएको तर भारतीय पक्षसँग ठोस वार्ताको पहल नभएको विषय आउने गरेको छ । यसले पनि ठोस वार्ता टर्ने र आवाजहरु सेलाउने गरेको छ ।

प्रकाशित मिति: Dec 8, 2019

प्रतिक्रिया दिनुहोस्