Logo
५ जेष्ठ २०८१, शनिबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्सिजन लगाएकै अवस्थामा ‘सिद्धबाबा’ अदालतमा उपस्थित, ४ दिनको म्याद थप

एक २९ वर्षीया महिलाले आफूलाई ‘करणी’ गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका ‘सिद्धबाबा’ भनिने कृष्णदासजी महाराजलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको छ।

उनलाई अक्सिजन लगाएकै अवस्थामा प्रहरीले एम्बुलेन्समा राखेर सुनसरी जिल्ला अदालत इनरुवा पुर्‍याएको थियो, जहाँबाट उनलाई उपचाररत अस्पतालमैँ राखी “अनुसन्धान गर्न चार दिन म्याद थप भएको” सुनसरीका डीएसपी विनोद शर्माले बीबीसीलाई बताए।

“अब हामी सम्मानित अदालतको आदेश बमोजिम उहाँको स्वास्थ्य उपचारमा ध्यान दिँदै अनुसन्धान अगाडि बढाउँदैछौँ।” डीएसपी शर्माका अनुसार मङ्सिर ८ गते आफूविरुद्ध उजुरी परेर पछि पक्राउ पुर्जी जारी भएलगत्तै स्वामी ‘कृष्णदासजी’ भनिने ४६ वर्षीय कृष्णबहादुर गिरी अस्पताल भर्ना भएका थिए।

केही दिनपछि उनी फेरि आफू मुटुको समस्याले ग्रस्त आएको भन्दै विराटनगरको एक निजी अस्पतालको आईसीयूमा भर्ना भएका थिए।

डीएसपी शर्माका अनुसार “स्वामी ‘कृष्णदासजी’ले गत कार्तिक ४ गते चतरास्थित आश्रममैँ आफूलाई करणी गरेको” भन्दै पीडित महिलाले “एक महिना चार दिनपछि” उजुरी दिएपछि” प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरिरहेको थियो।

त्यसअघि कार्तिक १९ गते ‘कृष्णदासजी महाराज’ले पनि सामाजिक सञ्जाल “फेसबुकमार्फत्‌ आफ्नो चरित्र हत्या गरेको” भन्दै ती महिलाविरुद्ध नेपाल प्रहरीको अपराध सनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएका थिए।

पक्राउ पर्नुअघि विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा ‘कृष्णदासजी महाराज’ले उनले आफूविरुद्धको आरोप निराधार भएको बताएका विवरण सार्वजनिक भएका थिए।

मङ्सिर १५ गते अन्नपूर्ण पोस्ट पत्रिकामा प्रकाशित एक समाचारमा उनले आफूविरुद्ध ‘स्त्री बम प्रहार भएको’ बताएका थिए।

उनको एक सहयोगी श्याम पौडेलले ‘कृष्णदासजी महाराज’विरुद्धका उजुरी “निराधार” र “षड्यन्त्र” भएको सोमवार बीबीसीलाई बताए।

आखिर किन गयो प्रहरी आईसीयूमै?
पक्राउ पुर्जी जारी हुने बित्तिकै ‘कृष्णदासजी महाराज’ अस्पताल गएको प्रहरीलाई थाहा भए पनि उनीप्रतिको “आस्थामा खलल नपुग्ने गरी” कारबाही गर्नुपर्नेबारे प्रहरी “सचेत” थियो।

डीएसपी शर्माले  भने, “तर अनुसन्धान अघि बढाउन अदालतको आदेश आइसकेको अवस्थामा हामी रोकिन चाहेनौँ।” फेरि प्रश्न उठ्न सक्छ: ‘कृष्णदासजी महाराज’ आईसीयूमै भर्ना भएको अवस्थामा प्रहरीले किन कुर्न सकेन?

जवाफमा डीएसपी शर्माले भने, “उहाँको उपचार भइरहेकोले हामी कुर्ने पक्षमा थियौँ। तर यहाँ त ‘मिडिया ट्रायल (सञ्चारमाध्यममा मुद्दाबारे बहस)’ धेरै हुन थाल्यो। को दोषी? को निर्दोष? भनेर मिडियामै ट्रायल हुन थाल्यो र प्रहरी नै बदनाम हुने स्थिति आयो। त्यसैले हामीले उहाँलाई नियन्त्रणमा लिएका हौँ।”

प्रहरीले ‘कृष्णदासजी महाराज’लाई अक्सिजन लगाएकै अवस्थामा अस्पतालबाट एम्बुलेन्समा अदालत लगेको थियो। डीएसपी शर्माका अनुसार अदालतले अनुसन्धानका लागि म्याद थप दिने क्रममा ‘कृष्णदासजी महाराज’ले कार्तिक १९ गते सीआईबीमा पीडित महिलाविरुद्ध दर्ता गरेको विद्युतीय अपराधसम्बन्धी उजुरीलाई पनि समानान्तर रूपमा अघि बढाउन आदेश दिएको छ भन्दै बिबिसीमा खबर छ।

•’करणी भएको’ भनिएको मिति -कार्तिक ४ गते

•’कृष्णदासजी’द्वारा महिलाविरुद्ध उजुरी – कार्तिक १९ गते

•महिलाद्वारा कृष्णदासजीविरुद्ध उजुरी – मङ्सिर ८ गते

 

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्