Logo
२१ बैशाख २०८१, शुक्रबार
(November 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुर क्यान्सर अस्पतालमा झडप, स्वायत्त संस्थामाथि नगरपालिकाले हस्तक्षेप गरेको आरोप

अस्पताल व्यवस्थापनको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रुपमा रुपेश शिल्पकारलाई पदस्थापन गर्न खोजेपछि झडप भएको हो ।

अस्पताल सञ्चालन गर्दै आएको नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीले नगरपालिकाले स्वायत्त संस्थामाथि अनधिकृत हस्तक्षेप गरी आफूहरूलाई पाखा लगाएको गुनासो छ ।

अनियमितता गरेको आरोप लगाउँदै नेमकिपा नेतृत्वको भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेपछि प्रमुख दुई दल नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएका थिए ।

अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति निकाल्दै अनियमितता भए आफूहरूमाथि छानबिन गर्न र दोषी देखिए कारबाही गर्न आग्रह गरेका थिए ।

भक्तपुर क्यान्सर अस्पताल संस्था दर्ता ऐन, ०३४ अन्तर्गत गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएको नेपाल अर्बुद रोग निवारण संस्थाले दाताको सहयोगमा सञ्चालन गरेको सामुदायिक अस्पताल हो ।

संस्थाको विधानअनुसार ४२ जिल्ला शाखासमेत रहेको संस्थाको अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वतः रहने व्यवस्था छ ।

अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा रहेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडालगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा अनियमितता गरेको आरोप छ ।

अस्पतालमा अनियमितता भए छानबिन हुनुपर्नेमा नगरपालिकाको नेतृत्व भएकै आधारमा मेयरले पार्टीगत रूपमा एकलौटी नेतृत्व हत्याउने र कब्जा जमाउने कोसिस भएको काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापा बताउँछन् ।

प्रकाशित मिति: Nov 24, 2019

प्रतिक्रिया दिनुहोस्