Logo
२२ कार्तिक २०८१, बिहीबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैर-नेपालीलाई नागरिकता दिलाएको अभियोगमा २ कर्मचारीसहित ६ जना जेल चलान

झापा : झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

कारागार चलान भएका अभियुक्तमा झापा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका-८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालय झापाको मूलढोका अगाडि नेसनल फोटो स्टुडियो चलाउने भद्रपुर-१० का भीमबहादुर लिम्बू, लेखापढी सम्बन्धी काम गर्ने भद्रपुर-१० का प्रेमराज तिम्सिना, विर्तामोड-५ बस्ने टेकबहादुर गुरुङ र भारत किसनगञ्ज घर भई विर्तामोड-८ मा डेरा गरी बस्ने मुस्तफा आलम रहेका छन् ।

गैर-नेपालीलाई झुठा विवरण भराई झापा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता लिएको घटना सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँबाटसमेत छानबिन भएको थियो ।

प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको थियो भने अभियोग लागेका भद्रपुर र विर्तामोडका दुई जना वडाध्यक्ष फरार भएका छन् । प्रहरीले उनीहरुको खोजतलास भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्तहरुले मिलिभगत गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएका थिए । उक्त नागरिकताविरुद्ध उजूरी परेपछि गृहमन्त्रालयले नै चासो राखी छानबिन अघि बढाउन निर्देशन दिएको थियो ।

सो घटनामा जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल र खरिदार तेजिन्द्र न्यौपानेको प्रत्यक्ष संलग्नता रहेको छानबिनले ठहर गरेको थियो ।

प्रहरीले न्यौपानेलाई पक्राउ गरेको थियो भने ढुङ्गेल अझै फरार छन् । झुठा विवरण बनाउँदा टेकबहादुर गुरुङ र रीना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नेपाली नागरिकता दिलाउन सनाखत गराइएको थियो ।

त्यसरी नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ, लोब्सान गुरुङलगायत छन् ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्