Logo
२३ बैशाख २०८१, आईतबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परियोजना अघि बढ्ने

काठमाडौं :  जाजरकोटमा अवस्थित ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परिआयोजना अघि बढ्ने भएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जापानी विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहिवार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सहमति भएको हो ।

मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसंग छलफल गरेका थिए ।

भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए ।

उर्जामन्त्री पुनले जाइकाले पिपिपि मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए । उनकाअनुसार उक्त परियोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ ।

‘जाइकासंगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिवद्धता जनाउनुभएकोले पनि चांडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु ।’ मन्त्री पुनले भने ।

त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

भेटमा मन्त्री पुनले नेपालमा हाल ५ वर्षको लागि स्थायी सरकार रहेको भन्दै थप लगानीका लागि आग्रह गरे । उनले नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र नाफा समेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको दावी समेत गरे ।

मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिंचाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित विजुली बेच्नका लागि भारत र बंगलादेशसंग सम्झौता भइसकेको मन्त्री पुनको भनाई थियो । उनले उत्पादित विजुलीको लागी आन्तरिक र बाह्य बजार बनाउन सरकार सक्षम रहेको धारणा समेत राखे ।

जापानमा जलविद्युतको क्षेत्रमा काम गर्ने २५ कम्पनीका प्रतिनिधिले भेटे उर्जामन्त्री

मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरेको छन् । ४ दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले २५ भन्दा बढी कम्पनीका प्रतिनिधी र १ सय सहभागी भएको अन्तरक्रिया कार्यक्रममा नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागि सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्तासरह सुविधा दिने घोषणा समेत गरेका छन् । उनले भने ‘तपाईहरुले नेपालमा लगानी गर्नुभयो भने हामिले नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौ । उत्पादित विजुली पनि हामीले नै खरिद गर्छौ, बजारको पनि चिन्ता नगर्नुहोस् ।’

मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण समेत बनाइदिने प्रतिबद्धता जनाएका थिए । अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई, टोकियो ईलेक्ट्रोनिक्स, न्युजेक ईलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजन समेत जाइकाले गरेको थियो ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्