Logo
६ जेष्ठ २०८१, आईतबार
(September 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईजीपी खनालको कार्यशैली विवादास्पद : प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म असन्तुष्ट

काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका विवादास्पद कार्यशैलीले सरकार असन्तुष्ट देखिएको छ ।

प्रहरी संगठनमा बन्दोबस्तीका सामानको खरिदमा अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै अनुसन्धान अगाडि बढाएका बेला मन्त्रिपरिषद् बैठकले आईजीपी खनालको रायसल्लाह बिना नै एआईजीको सरुवा गरेको छ ।

एआईजीको कार्यशैली ठीक नभएपछि प्रहरीका एआईजी सोझै गृहमन्त्री रामबहादुर थापाको सम्पर्कमा पुग्न थालेका छन् । ‘चेन अफ कमाण्ड’ अनुसार आईजीपीमार्फत् प्रहरी अधिकारीले गृह मन्त्रालयमा सम्पर्क राख्नुपर्ने हुन्छ ।

आईजीपीको कार्यशैलीबाट असन्तुष्ट बनेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री थापाले खनाललाई बेवास्ता गर्न थालेको बताइन्छ । प्रहरी नेतृत्व कमजोर भएको भन्दै गृहमन्त्री थापाले एआईजी पुष्कर कार्कीसँग छलफल गरेका छन् ।

एआईजी कार्कीलाई प्रहरी मुख्यालयमा सरुवा गरिएको छ । प्रहरी मुख्यालय कमजोर भएपछि गृहमन्त्री थापाले विभिन्न तहका प्रहरी अधिकारीसँग छलफल गरेको स्रोतले जनाएको छ । यी छलफलमा आईजीपी खनाललाई भने बेवास्ता गरिएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीलाई प्रहरी मुख्यालयमा पठाएको छ । कार्कीलाई मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धान गरी दुई वटा विभागको नेतृत्व हेर्ने जिम्मेवारी दिइएको छ ।

मुख्यालयका एआईजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ । एआईजी धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा काजमा राखिएको छ । यी महत्वपूर्ण सरुवा हुँदा आईजीलाई सामान्य जानकारी समेत नहुनु प्रहरी संगठन र गृह मन्त्रालयभित्र चर्चाको विषय बनेको छ ।

अख्तियारको छापादेखि सरुवा जानकारी नहुनुसम्म आउँदा आईजीपी खनालका प्रस्तावलाई सरकारले खारेज गरिदिने गरेको छ । विदेश भ्रमणमा जान आईजीपी खनालले पठाएका प्रस्ताव सरकारले खारेज गरिदिएको छ ।

हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखको सम्मेलन हुन्छ, त्यहाँ जान आईजीपी खनालले पठाएको प्रस्ताव सरकारले अस्वीकृत गरिदिएको छ । यसअघि खनालको भारत भ्रमण समेत अस्विकृत भएको थियो ।

सरकारले संविधान दिवसको अवसरमा आईजीपी खनाललाई विभूषण समेत दिएन । प्रधानमन्त्री ओली असन्तुष्ट भएपछि उनको नाम विभूषित हुनेको सूचीबाट काटिएको स्रोतको दाबी छ । आईजीपीलाई विभूषित गर्ने परम्परा आईजीपी खनालको कार्यशैलीले भंग भएको छ ।

चिनियां राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारी चलिरहेको बेला प्रहरी महानिरीक्षको बारेमा विकल्प खोज्दा गलत सन्देश जाने भएकाले कुनै निर्णय नभएपनि चांडै उनिबारे निर्णय हुने गृह स्रोतको दाबी छ ।

‘खनालको कामबारे गृहमन्त्रीज्यु समेत अहिले असन्तुष्ट बन्नुभएको छ, पहिले उहांको अडानले नै आईजिपी खनालको पद जोगिएको हो ,तर उहांको काम कार्वाहीले अहिले मन्त्रीज्युलाई नै समस्या परेको छ ।’ गृहमन्त्री निकट स्रोतले भन्यो ।

आईजीपी खनालको नेतृत्वमा प्रहरी संगठन कमजोर र बदनाम हुँदा जनअपेक्षा उच्च भएको वर्तमान सरकारलाई समेत अप्ठ्यारो भएको छ । खनालले सर्वसाधारणमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन सकेका छैनन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या अनुसन्धानदेखि विप्लव नेता कुमार पौडेलको ‘फेक इन्काउन्टर’सम्म प्रहरी संगठन विवादित हुँदा सरकारकै आलोचना भएको थियो । पछिल्लो समय प्रहरीका अधिकृतहरू विभिन्न घुसकाण्डमा समेत मुछिँदै आएका छन् ।

प्रकाशित मिति: Sep 26, 2019

प्रतिक्रिया दिनुहोस्