Logo
६ जेष्ठ २०८१, आईतबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुन्छ : बालकृष्ण खाँण

चितवन : नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् ।

प्रेस युनियन चितवनले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताएका हुन् ।

नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै उनले चीनमा जनताले मतदान गर्न नपाउने बताए । सरकारले चिनियाँ राजनीति नेपालमा भित्र्याउन खोजेको आरोप लगाउँदै उनले चिनियाँ राजनीति भित्र्याए स्वयं कम्युनिष्टलाई नै घातक हुने बताए।

’संसारमा चीनको जस्तो शासन कहीँ पनि छैन। चीनमा एकमात्र चिनियाँ कम्युनिष्ट पार्टी छ जसले लोकतन्त्रलाई कदापी स्वीकार्दैन’ उनले भने ।

सरकारले मिडियालाई अंकुशमा राख्न मिडिया विधेयक पास गर्न खोजेको भन्दै कांग्रेसले जस्ताको तस्तै विधेयक पास गर्न नदिने खाँणले बताए ।

पत्रकारिता स्वतन्त्र र सबल रहेको देशमा लोकतन्त्र पनि बलियो रहने भन्दै उनले लोकतन्त्रको रक्षा र स्वतन्त्र पत्रकारिताको पक्षमा नेपाली कांग्रेस रहेको बताए ।

कांग्रेसले देशव्यापीरूपमा दोस्रो राष्ट्रिय जागरण अभियान उत्साहजनकरूपमा सफल पारेको भन्दै उनले अब स्थानीय तहसम्म पुग्ने गरी तेस्रो जागरण अभियान छिट्टै शुरु गरिने बताए ।

नेता खाँणले कालीगण्डकी डाइभर्सन गरेर सबै पानी तिनाउमा लान नखोजेको भन्दै यसले प्रभाव पार्ने नपार्ने विषयमा अध्ययन भइरहेको बताए ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्