Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाको मागलाई खण्डन : ‘डेंगु नियन्त्रणका लागि संकटकाल घोषणा गर्नुपर्ने अवस्था छैन’

काठमाडौँ :   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रियसभाको बैठकमा उठेको मागलाई खण्डन गर्दै डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गर्न आवश्वक नरहेको बताएको छ । डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको हुनाले संसदमा माग उठेका बेला स्वास्थ्य मन्त्रालयले आत्तिन पर्ने अवस्था नरहेको बताएको हो ।

हिजो बसेको बैठकमा महामारी नियन्त्रण बाहिर गएकोले संकटकाल घोषणा गरेर नियन्त्रण अभियान चलाउन संसदमा माग उठाएका थिए । जसलाई खण्डन गर्दै स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई नआत्तिन आग्रह गरेका छन् । त्यसमाथि मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आम नागरिकमा अनावश्यक भय फैलाइएको जिकिर गरेका छन् ।

‘डेंगुको महामारीको अवस्था छैन, संकटकाल घोषणा गर्ने आवाज उठाएर जनतालाई त्रसित नपारौँ, श्रेष्ठले भने, ‘सामान्य अवस्था छ, यसको मतलव केही भएको छैन, केही भएको होइन भन्ने चाहिँ होइन ।’ उनले डेंगु रोग नियन्त्रणका लागि सरकारले सबै प्रयास गरिरहेको बताए ।

काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा डेंगुको संक्रमणले ६ जनाको मृत्यु भइसकेको छ भने हजारौँ संक्रमित भएका छन् । तराईका जिल्लामा मात्रै भेटिने डेंगुका बिरामी पहाडी जिल्ला हुँदै हिमाली जिल्ला मनाङमा समेत भेटिएपछि आम नागरिक थप त्रसित बनेका छन् ।
तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले भूगोलका हिसाबले धेरै ठाउँमा डेंगु भेटिए पनि महामारीको अवस्था नरहेको बताए ।

‘भूगोलका हिसाबले धेरै ठाउँमा डेंगु भेटिएको छ, विभिन्न जिल्लामा ६ जनाको मृत्यु पनि भयो तर यी ६ जना डेंगुकै कारण भन्दा पनि अरु रोगले थलिएका र पछि डेंगु लागेका बिरामी हुन्’, श्रेष्ठले भने, ‘सरकारले मृत्यु भएका ६ जनाबारे पनि अध्ययन गरिरहेको छ ।’

कांग्रेस सांसद राधेश्याम अधिकारीले बुधबार राष्ट्रियसभाको बैठकमा डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गरेर अभियान थाल्न माग गरेका थिए । यसअघि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि सेना र प्रहरी परिचालन गर्ने बेला भएको बताएका थिए ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्