Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्रिनकार्डको विषयमा र्‍याखर्‍याख्ती : संसदीय सुनुवाइ समितिबाट राजदूतहरुको अनुमोदन

तिनिधिसभा अन्तर्गत संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा स्पेनका लागि प्रस्तावित नेपाली राजदूत दावाफुटी शेर्पाको सुनुवाई हुँदै । तस्वीर : रोशन सापकोटा

काठमाडौँ : संघीय संसदको संसदीय सुनुवाइ समितिले बिभिन्न देशका लागि सरकारद्धरा नियुक्त राजदूतहरुको नियुक्तीलाई अनुमोदन गरेको छ ।

अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावा फुटुङ शेर्पालाई राजदूत अनुमोदन गरेको हो ।

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले चारैजनाको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

संसदहरुले यसअघि बैठकमा अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाललाई अधिकांश सांसदहरुले ग्रिनकार्ड लिएको आरोपमा  र्‍याखर्‍याख्ती पारेका थिए ।

जवाफमा नेकपा अध्यक्ष पुष्पकमल दाहालका भतिजा तथा कांग्रेस कोटाबाट नेपाल टेलिभिजनका अध्यक्ष भइसकेका दाहालले आफूले अमेरिकाको ग्रिनकार्ड नलिएको स्पष्ट पारेका थिए ।

सांसदहरुले नेपालको संवैधानिक व्यवस्था र स्थापित प्रचलनले विदेशको बसोबास अनुमतिपत्र लिएकालाई राजदूत नियुक्ति दिन नमिल्ने भन्दै दाहाललाई ग्रिनकार्डबारे स्पष्ट पार्न भनेका थिए ।

जवाफमा उनले भने, ‘म अहिलेसम्म चारपटक अमेरिका गएको छु । एक महिनाभन्दा बढी कहिल्यै बसेको छैन । मेरो र परिवारको ग्रिनकार्ड त परको कुरा, हामीले ग्रिनकार्ड अप्लाइसम्म गरेको छैन ।’

उनका अनुसार उनकी श्रीमतीले भने अमेरिका भ्रमणका क्रममा त्यहाँ नै नर्सिङको पढाइ थालेको र पढाइ सकेपछि वर्क परमिट लिएर रजिस्टर्ड नर्सका रुपमा काम गरिरहेकी छन् ।

उनले आफू र आफ्नो परिवारको विदेशमा बस्ने सोच नभएको पनि स्पष्ट पारेका थिए । उनले आफ्नो ग्रिनकार्ड पुष्टि भए पद त्याग गर्न तयार रहेको पनि सुनुवाइ समितिमा स्पष्ट पारेका थिए ।

सुनुवाइ समितिमा बंगलादेशका लागि प्रस्तावित वंशिधर मिश्र र कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाजलाई पनि सांसदहरुले प्रश्न गरेका थिए ।

स्पेनको राजदूतमा अनुमोदन भएकी ३४ वर्षीया दावा फुटुङ शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन् ।

प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाई समितिको सोमबारको बैठकमा अष्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत महेशराज दाहालको सुनुवाई हुँदै । तस्बिर : रोशन सापकोटा

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्