नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टाछुट्टै संस्थाको रुपमा विकास गर्ने तयारी
काठमाडौँ : हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउन सरकारले नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गरी दुई छुट्टाछुट्टै संस्थाको रुपमा विकास गर्नेभएको छ ।
मुलुकको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रुपमा स्थापित गर्न कानूनी प्रक्रिया अघि बढाएको हो ।
अन्तर्रा्ष्ट्रिय हवाई सुरक्षा चासोलाई मध्यनजर गर्दै मन्त्रालयले प्राधिकरणलाई दुई भिन्न निकाय बनाउने प्रयोजनका निम्ति तद्सम्बन्धी ऐनको मस्यौदा तयार समेत गरेको छ ।
मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाका अनुसार अन्तर्रा्ष्ट्रिय अभ्यास अनुरुप प्राधिकरण चल्नुपर्ने भएकाले नियामक र सेवा प्रदायकका रुपमा हवाई सुरक्षा प्रणालीमा थप गुणस्तर कायम गर्ने उद्देश्यका लागि प्रक्रिया अघि बढाइएको हो ।
प्रक्रियामा सरोकार भएका अर्थ, परराष्ट्र र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरिएको र छिट्टै यसलाई पूर्णता दिने तयारी भइरहेको सचिव सापकोटाले बताए ।
सुरक्षा चासो जनाउँदै अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र युरोपेली सङ्घले प्राधिकरणलाई अलग गर्न आग्रह गर्दै आएका थिए ।
आइकाओको सन् २००९ को ‘अडिट’मा सन् २०१२ मा आइकाओका अध्यक्ष नेपाल आउँदा र युरोपेली संघले पनि प्राधिकरणको नियामक तथा सेवा प्रदायक निकाय अलग गर्न सुझाव दिएको थियो ।
प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन ऐन २०७१’ को मस्यौदा परिमार्जन गरेर २०७३ मै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको थियो ।
गत वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणको वार्षिकोत्सवका अवसरमा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीले छिट्टै दुई निकाय अलग बनाउने घोषणा गरेका थिए।
कर्मचारी युनियनको दबाबपछि कामले गति लिन सकेको थिएन ।