हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर घर बनाउने काम शुरु गरिने
वीरगञ्ज : बारा र पर्सामा हावाहुरीका कारण घरबारविहीन भएका सर्वसाधारणको घर निर्माण वैशाख २१ गतेदेखि सुरु हुने भएको छ । हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैशाख २१ गते बारा पर्साका हावाहुरी प्रभावित १२ ठाउँमा १२ वटा समूह बनाएर एकै चोटि घर बनाउने काम शुरु गरिने जानकारी दिएका हुन् ।
सरकारले उक्त काममा ७ सय ५० जना इन्जिनियर खटिने पनि उनले बताए । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा पत्रकारसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारले गरेको निर्णयलाई आधार मानी सेनाले घर निर्माणको जिम्मेवारी पूरा गर्ने स्पष्ट पारे । ‘हावाहाहुरी प्रप्रभावितका लागि नेपाली सेनाले बनाउन लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत प्रश्नले बाधा पुग्दैन, कुनै राजनीतिक दवावले पनि प्रभाव पार्दैन’ उनले भने ।
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालयसमेत हुने गरी दुईकोठे घर बनाइने जानकारी दिए । उनले क्षतिग्रस्त भएको घरका आधारमा सो निर्णय गरिएको र पूर्णरुपमा क्षति भएका व्यक्तिको घर बबनाइने बताए ।
यसअघि उपप्रधानमन्त्री पोखरेलले पीडितलाई नयाँ घर बनाउने जिम्मेवारी पाएका सेनाका प्रमुखहरुसँग जानकारी लिएका थिए । सङ्घीय सरकारले बारा पर्साका हावाहुरी प्रभावित एक हजार ४५३ घर बनाउन नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ प्रदान गरेको छ ।