Logo
१८ बैशाख २०८१, मंगलबार
(April 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चन्द्रमामा पुनः मानिस पठाउने तयारीमा अमेरिका

अमेरिकाले अबको ५ वर्षभित्र चन्द्रमामा मानिस पठाउने लक्ष्य रहेको बताएको छ । अमेरिकी उप-राष्ट्रपति माइक पेन्सले अन्तरिक्ष एजेन्सी नासालाई अबको ५ वर्षभित्र अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाएको देख्न चाहेको बताएका हुन् ।

चीनले हालै रोबोटिक मिसनमा पाएको सफलताको उदहारण दिँदै उप-राष्ट्रपति पेन्सले चन्द्रमामा मानिस पठाउनु पर्ने बताएका हुन् । उनले भनेका छन्, ‘हामीले अहिले अन्तरिक्षको दौडमा छौँ, सन् १९६० को दशकमा जस्तै ।’

नासाले यसअघि नै चन्द्रमामा मानिस पठाउने तयारी थालेको थियो, तर उप-राष्ट्रपति पेन्सको घोषणाले समय सीमा नै तोकिदिएको छ । अलबामाको हट्सनभिलामा नेशनल स्पेस काउन्सिलको बैठकमा सहभागी भएका बेला पेन्सले चन्द्रमामा मानिस पठाउनु पर्नेमा जोड दिएका हुन् ।

उप-राष्ट्रपति पेन्सले भनेका छन्, ‘यो अहिलेको सरकार र अमेरिकाको नीति नै हो कि अमेरिकी अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पुनः पठाइने छ अबको ५ वर्षभित्र । हामी २० औँ शताब्दीमा चन्द्रमामा पुग्ने पहिलो देश थियौँ, र २१ औँ शताब्दीमा पुनः चन्द्रमामा पाइला टेक्ने इतिहास पनि अमेरिकी अन्तरिक्ष यात्रीले लेखाउने छन् ।’

नासाले यो पटकका चन्द्रमाको लुनार साउथ पोललाई लक्षित गरेको छ, जहाँ हरेक समय अँध्यारो हुन्छ । यो पोलमा हिउँको रुपमा पानी पनि रहेको छ, यसलाई अन्तरिक्ष यानका लागि इन्धनको रुपमा प्रयोग गर्ने नासाको लक्ष्य छ । सन् १९६९ मा निल आर्मस्ट्रोङ्ग चन्द्रमामा पाइला टेक्ने पहिलो मानिस बनेका थिए ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रशासक जिम बर्डेन्स्टिनले ट्वीट गर्दै चुनौति स्वीकार रहेको र अबको समय काम गर्ने बेला आएको बताएका छन् । केहीले भने समय सीमा अति नै कम रहेको र चुनौतिपूर्ण पनि रहेको बताएका छन् ।

प्रकाशित मिति: Apr 1, 2019

प्रतिक्रिया दिनुहोस्