Logo
१६ बैशाख २०८१, आईतबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यान्सरबाट बच्न माछाको बोसो अत्यन्त लाभदायी

मासुमा हुने बोसो त्यति राम्रो मानिँदैन स्वास्थ्यका लागि र धेरैले सकेसम्म बोसो तर्काउँछन् । सबै बोसो हानीकारक हुँदैन, बोसोमा पाइने तत्वले क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको संक्रमण भइसकेकामा त्यसको फैलिने दर सुस्त बनाउन सहयोग पनि गर्छ ।

तर यस्तो सकारात्मक प्रभाव रातो मासु अर्थात खसी, बोका वा राँगाको मासुमा पाइने बोसोले भने गर्ने होइन । माछामा पाइने बोसोले क्यान्सरको जोखिम कम गर्न तथा क्यान्सरको संक्रमण भएकाहरुमा फैलिने दर सुस्त गर्न सहयोग गर्ने देखिएको यसमा अनुसन्धान गरेकी डा सरस्वती खड्गीले बताएकी छन् ।

अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का मेडिकल सेन्टरबाट विद्यावारिधी गरेकी डा. खड्गीले भनिन्, ‘मैले आफ्नो पिएचडीको अनुसन्धान स्तन क्यान्सर र ओमेगा-थ्रीको प्रभावका बारेमा गरेकी हुँ । यस क्रममा ओमेगा-थ्रीले विशेष गरी स्तन क्यान्सरको जोखिम न्युनिकरण गर्न कस्तो सहयोग गर्छ भनेर मुसामा परीक्षण गरियो ।’

डा. खड्गीले प्रष्ट पार्दै भनिन्, ‘मुसामा गरिएको अध्ययनबाट ओमेगा-थ्रीले क्यान्सरको जोखिम कम गर्ने देखियो । अर्को कुरा क्यान्सर संक्रमण भइसकेपछि त्यसको फैलने दर ओमेगा-थ्रीले कम गराएको हामीले अनुसन्धानमा पाएका छौँ ।यसको अर्थ ओमेगा-थ्रीले उपचारबाट पूर्ण निको नहुने अवस्थामा पुगेका क्यान्सरका बिरामीको जीवन अवधि बढाउने देखियो ।’

क्यान्सर नफैलिएसम्म कुनै पनि बिरामीको मृत्यु नहुने भएकाले ओमेगा-थ्रीले क्यान्सर फैलन रोक्ने देखिँदा क्यान्सरको उपचारमा नयाँ सम्भावना देखिएको डा. खड्गीले बताइन् । उनले भनिन्, ‘उदाहरणका लागि-स्तनमा भएका क्यान्सर त्यहाँबाट नफैलिएसम्म बिरामीको मृत्यु हुँदैन । स्तनको क्यान्सर फोक्सो, हड्डी वा शरीरका अरु भागमा फैलिएपछि बिरामीको मृत्यु हुने हो । ओमेगा-थ्रीले क्यान्सरको फैलावटलाई रोक्ने हामीले मुसामा गरेको अनुसन्धानमा पाएका छौँ ।’

माछाको बासो र ओमेगा-थ्री : 

ओमेगा-थ्रीको प्रमुख स्रोत माछाको बासो हो । यसले गर्दा माछाको तेल विशेष गरि स्तन क्यान्सरको जोखिम कम गर्न र क्यान्सरको बिस्तार कम गर्न उत्कृष्ट बन्ने डा. खड्गीले बताइन् । अहिले अमेरिकाको टेनिसेमा थप अनुसन्धानमा संलग्न डा. खड्गीले भनिन्, ‘माछाको तेल ओमेगा-थ्रीको प्रमुख स्रोत हो । माछाको बासोमा यो प्रमुख मात्रामा पाइन्छ ।

अरु रातो मासुमा पाइने बासोमा ओमेगा-सिक्स हुन्छ । माछाको बोसोमा प्रमुख मात्रामा ओमेगा-थ्री हुन्छ र अरु तत्व पनि पाइन्छ ।’ विशेष गरि ट्राउट, सालमन जातका माछामा ओमेगा-थ्री बढी हुने उनले बताएकी छन् । यस्तै ओखर, सागपात, आलसमा पनि ओमेगा-थ्री पाइने उनले बताएकी छन् । यस्ता ओमेगा-थ्री पाइने कुरा नियमित सन्तुलन मिलाएर खाएमा क्यान्सरको जोखिम कम हुने उनले जानकारी दिएकी हुन् ।

यस्तै बजारमा माछाको तेलको ट्याबलेट पाइने भएकाले त्यो पनि प्रयोग गर्न सकिने डा. खड्गीले बताइन् ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्