Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पले आन्तरिक मामिलामा हस्तक्षेप गरेमा ह्वाइट हाउस छोड्नु पर्ने अवस्था आउने

कराकस : भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताएका छन् । उनले आइतबार स्पेनको एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सो धारणा राखेका हुन् । उनले सो अन्तर्वार्तामा भने, ‘देश गृहयुद्धमा होमिने या नहोमिने भन्ने कुरा अमेरिका र उसका समर्थक मित्रराष्ट्रहरुको क्रियाकलापमा निर्भर रहने छ ।’

सो टेलिभिजन अन्तर्वार्तामा मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेमा राष्ट्रपति ट्रम्पले रक्ताम्य हात लिएर ह्वाइट हाउस छोड्नु पर्ने अवस्था आउने चेतावनी समेत दिनुभएको एक समाचारमा जनाइएको छ । राष्ट्रपति मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र समर्थनमा रहेका अन्य शक्तिराष्ट्रको उनले कडा शब्दमा आलोचना पनि गर्नुभएको समाचारमा जनाइएको छ ।

त्यसअघि विपक्षी नेता हुँवा गुइदो एक अन्तर्राष्ट्रिय गठबन्धन तयार पारेर देशभित्र मानवीय सहायता भित्र्याइने बताएका थिए । गत महिना गुइदोले आफूलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशहरूले उनलाई नै समर्थन गरेका थिए । आफूले विश्वका शक्ति राष्ट्रहरुको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन् ।

भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष शुरु भएको बताइएको छ । मदुरोले आफू नै निर्वाचन निर्वाचित राष्ट्रपति भएको बताउँछन् भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ । उक्त टेलिभिजनले राष्ट्रपति निकोलास मदुरोलाई दुवै जनाले आ-आफ्नो अडान नछोड्दा के यो देश गृहयुद्धमा धकेलिने त होइन भनी गरेको प्रश्नमा उनले सो धारणा राखेका हुन् ।

सो प्रश्नको जवाफमा उनले भने- ‘हो, यो कुरालाई कसैले नकार्न पनि सक्दैन र अहिले नै यो प्रश्नको जवाफ पनि कसैले दिन सक्दैन ।’ तर अहिले पनि भेनेजुएलामा विदेशी शक्ति राष्ट्रहरुका कारण परिस्थिति असहज बन्दै गएको र भोलिका दिनमा यो परिस्थिति अझै बिग्रिएर कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पनि पुग्न सक्ने उनको दाबी छ ।

सोही अन्तर्वार्तामा उनले युरोपेली युनियनले यसअघि आइतबार अघि सारेको समय अगावैको आम निर्वाचनको प्रस्तावलाई पनि नकारेका थिए । यसअघि यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीहरुले पनि मान्नुपर्ने धारणा राखेको थियो ।

राष्ट्रपति मदुरोले पनि यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचन गर्न सकिने भनी युरोपेली युनियनले गरेको प्रस्ताव स्वीकार गर्ने संकेत गरेका थिए । यहाँका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा शनिबार बृहत प्रदर्शन गरेर उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी दिँदै यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए ।

उनीहरुले गरेको सो निर्वाचनको मागपछि शनिबार नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव राखेका थिए । तर पनि मदुरोले दिएको भनिएको यो पछिल्लो अन्तर्वार्तामा भने विदेशीले अघि सारेको निर्वाचनको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएको अर्को समाचार आएको छ । गएको शनिवार मात्र देशको राजधानी शहरमा राष्ट्रपति मदुरो र विपक्षी नेता गुइदोका समर्थकहरूको बेग्लाबेग्लै प्रदर्शनहरू आयोजना गरेका थिए ।

शनिबारको प्रदर्शनको क्रममा भेनेजुएलाका एक उच्च सैन्य अधिकारी फ्रान्सिस्को यानेजले गुइदोको समर्थनका लागि समेत आह्वान गरेका थिए । सो समर्थनपछि झन् गुइदो अघि बढेका छन् । मदुरोलाई सत्ताबाट हटाउन गुइदोले सैन्य अधिकारीहरूसँग गोप्य भेटवार्ताहरू गरेको र मदुरोको मुख्य समर्थक मानिएको चीनसँग पनि सम्पर्क बढाएको समाचारहरुमा बताइएको छ ।

विपक्षीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएपछि मदुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न सक्ने अनुमान गरिएको थियो । भेनेजुएलामा पछिल्लो समयमा राजनीतिक सङ्कट बढ्दो छ । यहाँको राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गुइदोले राष्ट्रपति मदुरोलाई अवैध दाबी गर्दै अएका छन् । उनले केही दिन अगाडि आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेका थिए । उनको यो कदमलाई अमेरिका र अरु केही विदेशीहरुले समर्थन गरेपछि यहाँको सङ्कट बढेको हो ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्