Logo
२२ बैशाख २०८१, शनिबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले जित्यो पहिलो एकदिवसीय सिरिज, कप्तान पारस खड्काको कीर्तिमान शतक

काठमाडौं– कप्तान पारस खड्काले कीर्तिमान शतक बनाएपछि नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको छ। सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा भएको तेस्रो तथा निर्णायक खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै २–१ ले  सिरिज कब्जा गरेको हो।

यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो। अघिल्लो वर्ष एकदिवसीय मान्यता पाएको नेपालले यसअघि नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय सिरिजमा १–१ को बराबरी खेलेको थियो।

सोमबार युएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा पार गर्‍यो।

नेपाललाई जित दिलाउने क्रममा कप्तान कप्तान पारस खड्काले शतक प्रहार गरे। कप्तान पारस नेपालका लागि एकदिवसीय खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने।

खड्काको यो समग्रमा चौथो अन्तर्राष्ट्रिय शतक हो। यस्तै उनले युएईविरुद्ध दोस्रो पटक शतक प्रहार गरेका हुन्। गत वर्ष डिभिजन-२ फाइनलमा उनले युएईविरुद्ध शतक हिर्काएका थिए।

पारसले ९६ बलमा शतक प्रहार गरेका थिए। त्यसक्रममा उनले १३ चौका र १ छक्का हिर्काएका थिए। पारसले आउट हुनुअघि १ सय १५ रन जोडेका थिए। उनले १ सय ९ बल खेल्दा १५ चौका र १ छक्का हिर्काए।

नेपालका लागि ओपनरद्वय ज्ञानेन्द्र मल्ल ३१ र विनोद भण्डारी ९ रनमा आउट भएका छन्। यस्तै दीपेन्द्रसिंह ऐरीले पनि ६ रन भन्दा बढी जोड्न सकेनन्। यस्तै सन्दीप जोराले १९ रन र रोहितकुमार पौडेलले १६ रन जोडे।

त्यसअघि दुबईको आइसिसी एकेडेमीमा सोमबार टस जितेको नेपालले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ५४ रन जोड्यो।

युएईका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय शइमान अनवार र मोहमद बोताले अर्धशतक प्रहार गरेका थिए। अनवरले ७० बलमा ८७ रन जोडे। उनले ९ चौका र २ छक्का हिर्काए। बोताले ३१ बलमा नटआउट ५९ रन जोडे।उनले ५ चौका र ४ छक्का हिर्काए। कप्तान मोहमद नावीदले ३ बलमा नटआउट ११ रन जोडे।

युएईले अन्तिम ५ ओभरमा ७९ रन जोडेको थियो भने अन्तिम ओभरमा २३ रन जोडेको थियो। अन्तिम ओभरमा सोमपाल कामीले बलिङ गरेका थिए।

त्यसअघि ओपनर अस्फाक अहमेदलाई सोमपाल कामीले तथा चिराग सुरीलाई करण केसीले आउट शून्य रनमै आउट गरेका थिए।

पहिलो १० ओभरको पावरप्लेमा नेपाली बलर सामू युएईका ब्याट्सम्यान निरिह देखिएका छन्। सोमपाल र करणले सुरुवाती १० ओभरमा १४ रन मात्र खर्चिएका थिए। दुवैले ७–७ रन मात्र खर्चिएका थिए।

त्यसपछि भने युएईको स्कोरले गति लिन थालेको थियो। गुलाम सबारलाई सन्दीप लामिछानले १८ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारेका थिए। लगत्तै मोमहद उस्मान पनि २६ रनमा आउट भए। उनलाई नेपालका कप्तान पारस खड्काले ललित राजवंशीबाट क्याच गराए। त्यसपछि सिपी रिजवान र अनवारबीच पाँचौ विकेटका लागि  सय रनको साझेदारी भएको थियो। रिजवानलाई करण केसीले ४५ रनमा आउट गरेका थिए।

बलिङमा नेपालका करण केसीले २ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दा ४६ रन खर्चिए। यस्तै कप्तान पारस खड्काले पनि २ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट हात पारे।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्