Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षी नेताको अनुपस्थितिमै मधेसी आयोग सहित ५ आयोगमा अध्यक्ष नियुक्त गर्न सिफारिस

काठमाडौँ : संवैधानिक परिषद्ले आइतबार संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित ५ आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको परिषद् बैठकले ५ आयोगका अध्यक्ष नियुक्तिको सिफारिस गरेको हो । देउवा कांग्रेस पार्टीको कार्यक्रमका क्रममा लमजुङ छन् ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, विजयकुमार दत्तलाई मधेसी आयोग, विष्णुकुमार चौधरीलाई थारू आयोगमा र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ ।

धनुषाका दत्त मैथिली विद्यापति कोषका अध्यक्ष, जनकपुरस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पसका अंग्रेजी विषयको विभागीय प्रमुख हुन् । त्यस्तै बर्दियाका चौधरी पूर्वसांसद्, काठमाडौंका अन्सारी नेकपाका केन्द्रीय सदस्य हुन् । संवैधानिक परिषद् सचिवालयले उनीहरूको नाम संसदीय सुनुवाइका लागि आइतबार संघीय संसद् सचिवालयमा पठाएको छ ।

५ वटै आयोगमा अध्यक्ष र चार सदस्य रहने व्यवस्था भए पनि अध्यक्षमा मात्र नियुक्तिको सिफारिस गरिएको हो। सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई आयोगको अध्यक्ष नियुक्त गर्ने छिन् ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्