Logo
२० बैशाख २०८१, बिहीबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीमा अनुशासनको खाँचो, एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने

दमौली : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने साथै अनुशासनको पनि खाँचो रहेको बताएका छन् । तनहुँ काङ्ग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुने बताए ।

विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताए ।

सबै एकजुट भएर अगाडि बढे काङ्ग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिए ।

महासमितिको बैठकबाट पारित पार्टीको विधान उत्कृष्ट रहेकोे जिकिर गर्दै सभापति देउवाले पार्टीलाई तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको यो विधान काङ्ग्रेस पार्टीको आत्मविश्वासको प्रतीक भएको बताए ।

तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताउँदै पूर्वप्रधानमन्त्री देउवाले ‘सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएकोले ’ उसका क्रियाकलापविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिए ।

काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले आन्तरिक एकता नहुनु नै काङ्ग्रेसको हारको मुख्य कारण हो भन्दै कम्युनिष्ट पार्टी मिलेर मात्रै नभई पार्टीभित्रै एकता नहुँदा काङ्ग्रेस आज यो अवस्थामा पुगेको बताए ।

तनहुँमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशी पक्षले गर्न लागेको विशेष अधिवेशन विधानअनुसार नभएकाले उनीहरुलाई बोलाएर छलफल गर्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए ।

काङ्ग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, रामशरण महत, शङ्कर भण्डारी, प्रदीप पौडेल, जीवन परियार, पूर्वकेन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीलगायतले काङ्ग्रेसको जनआधार अहिले पनि बलियो रहेकाले चुनावको नतिजाबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्