Logo
१९ बैशाख २०८१, बुधबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मकै खेती प्रविधिलाई उन्नत बनाउँदै यूवा स्वरोजगारी सिर्जना गर्ने

बैतडी : प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाइ मकै जोन बैतडीले जिल्लामा संचालनमा गर्ने मकै जोन कार्यक्रममा सूचीकृत हुनको लागि कृषक समूहहरूलाई आग्रह गरेको छ ।

मकै जोन कार्यालयले एक सूचना जारी गर्दै यो कार्यक्रम लागु भएका दोगडाकेदार, सुर्नया, पञ्चेश्रर गाउँपालिका दथरथचन्द र पाटन नगरपालिकाका कृषक समूहरूलाई यही पुस २४ गतेभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिनु हुन आग्रह गरेको छ ।

मकैजोन कार्यालयले मकै खेती ५०० हेक्टर बढी ठाउँमा एउटै क्षेत्रमा भइरहेको ठाउँलाई क्षेत्र निर्धारण गरिएको हो । निवेदन दिने कृषकले परियोजनाले तयार गरेको परियोजनाको फर्मेट अनुसारको विवरण, समूह सहकारी तथा कृषि फर्म दर्ताको प्रमाण पत्र नविकरण र सहकारीको लेखापरीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने परियोजना कार्यान्वयन इकाइ मकै जोन बैतडीका निमित्त प्रमुख महेशप्रसाद अवस्थीले बताए ।

यस्तै समूह सहकारी तथा फर्मको बैठकको निर्णयको प्रतिलिपी र आवेदन फारममा १० को टिकट पनि लगाउनु पर्नेछ । समूहको हितकोष रकम, सहकारी तथा फर्मको बचत रकम तथा आयव्यय विवरण सँगै मकै खेतीले ढाकेको क्षेत्रफल र घरधुरीको विवरण पनि कार्यालयमा पेश गर्नुपर्नेछ ।

समूह सहकारीमा आवद्ध महिला, पुरुष, दलित तथा जनजातिको विवरण पनि कृषक समूहहरूले मकै जोन कार्यालयमा बुझाउनु पर्ने मकै जोन कार्यालय बैतडीले जनाएको छ। मकै खेतीको विस्तार, आधुनिकीकरण र औद्योगिकरणका लागि बैतडीमा गत असोजमा पहिलो पटक मकै जोन कार्यालय स्थापना गरिएका थियो ।

नेपाल सरकार मन्त्रीस्तरको निर्णय अनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत रहने गरी कार्यालय स्थापना भएको हो । मकै खेतीको विस्तार, आधुनिकीकरण र औद्योगिकरणका लागि कार्यालय स्थापना गरिएको जनाएको छ । मकै खेती प्रविधिलाई उन्नत बनाउँदै यूवा स्वरोजगारी सिर्जना गर्ने, खाद्यान्न आयतलाई प्रतिस्थापन गर्ने लगायतका कार्यमा कार्यालयले सहयोग पुर्‍याउने छ । बैतडी मकै उत्पादनका लागि राम्रो मानिएकाले यो जिल्लामा मकै जोन कार्यालय स्थापना भएको हो ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्