Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संवैधानिक इजलासको पुनर्गठन : न्यायाधीश जोशी अन्य जिम्मेवारीबाट पनि हटाइए

काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदभार सम्हालेको दोस्रो दिनमै न्यायपरिषदको बैठक राखी संवैधानिक इजलासको पुनर्गठन गरेका छन् । बैठकमा वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई भने उपस्थित गराइएन । उनी वरिष्ठतम न्यायाधीशबाट न्यायपरिषदका सदस्य रहेका थिए ।

जोशीलाई संवैधानिक इजलासबाट हटाइएको छ । त्यसैगरी परिषद बैठकले न्यायाधीश जोशीलाई मेलमिलाप परिषदका अध्यक्ष पदबाट फिर्ता बोलाइ न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश राणाकाे पहिलो दिनमै मिचियो संविधान र परम्परा
प्रधानन्यायाधीशकाे पदभार सम्हालेको भोलिपल्टै जबराले दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वको निर्णय लिएका छन्, वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई न्याय परिषद्बाट निष्काशित गरेर । बिहीबार प्रधान न्यायाधीश राणाको अध्यक्षतामा भएको बैठकमा जोशीलाई ननिम्त्याउनका साथै वरिष्ठतामा आधारित जोशीका सबै संवैधानिक र परम्परागत हैसियत खोसिएका छन्।

संविधानको धारा १२९ (६) अनुसार वरिष्ठतम न्यायाधीश प्रधान न्यायाधीशको अनुपस्थितिमा स्वतः कामु हुने, १ सय ५३ (१) (ग) अनुसार वरिष्ठतम न्यायाधीश न्याय परिषद्को सदस्य हुने र १५४ (२) (ग) अनुसार न्याय सेवा आयोगको सदस्य हुने प्रावधान छ । कानुनमन्त्री सहितको उपस्थितिमा नयाँ प्रधान न्यायाधीशले संवैधानिक प्रावधान विपरीतको निर्णय लिँदा न्यायपालिका-राजनीतिक सम्बन्धले न्यायिक स्वतन्त्रतालाई प्रभावित गर्ने संविधानविद्हरुले तर्क गरेका छन् ।

संविधानविद्हरुका अनुसार न्याय परिषदमा वरिष्ठतम न्यायाधीशको संलग्नता संवैधानिक बाध्यता हो, त्यो न्यायपरिषदको अध्यक्षको तजबिजी चाहनाबाट निर्देशित हुँदैन । जोशीबिनाको न्याय परिषद्को निर्णयअनुसार वरिष्ठतम पाँच न्यायाधीशहरु हुने संवैधानिक इजलासबाट पनि जोशीलाई विस्थापित गरिएको छ ।

इजलासमा प्रधान न्यायाधीश राणाका अतिरिक्त न्यायाधीशहरु दीपकुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की रहनेछन् । जोशीलाई मेलमिलाप परिषद्को अध्यक्ष पदबाट पनि विस्थापित गरिएको छ र त्यो जिम्मेवारी ईश्वरप्रसाद खतिवडालाई दिइएको छ । ‘मलाई कुनै जानकारी दिइएन परिषद् बैठकबारे, मेरो इजलास तोकिएन र मेरो कार्यालयमा तेस्रो वरियताको न्यायाधीशलाई राखियो,’ जोशीले भने, ‘यो मेरो प्रतिक्रिया होइन, घटनाबारे जानकारीमात्र दिएको हुँ । म अरु के प्रतिक्रिया हुन्छ, हेर्दैछु ।’

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्