Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तात्कालिन अंग्रेज युद्धमा प्रयोग भएको हतियार रौतहटको समनपुरमा भेटियो

हतियार लिएर हेर्दै कर्णेल सुजन शाक्य

रौतहट : तात्कालिन अंग्रेज युद्धमा प्रयोग गरिएको हतियार रौतहटको गढीमाई नगरपालिका स्थित समनपुरमा भेटिएको छ । झण्डै २ सय बर्ष अघि नेपाल अंग्रेजबीच युद्ध भएको बेला ब्रीटिस फौजलाई धपाउनको लागि तकालिन नेपाली सेनासँगै मिलेर स्थानीयले प्रयोग गरेको उक्त हतियार भेटिएको हो । करिब २०४ बर्ष पहिले पोखरीमा फालेको तरबार स्थानीय फकिरा राउतकी श्रीमति ९९ वर्षकी पिरितियादेवीले फेला पारेकी हुन् ।

अंग्रेजहरूबाट प्राप्त गरेका हतियारहरू स्थानीय बासिन्दाले एउटा पोखरीमा फालेका थिए । नेपाली सेनाको गौरस्थित इन्द्रबक्स गणका प्रमुख सेनानी सुजन शाक्यले प्रथम विश्वयुद्धताका पनि यस्तै हतियारको प्रयोग गरिएकाले नेपाल अंग्रेज युद्धको समयको हतियार भएको स्पष्ट पारे । राउतको घरको अगाडि रहेको ऐतिहासिक पोखरीबाट आफ्ना ससुराका हजुरबाले यस्ता अन्य साना हतियार पनि फेला पारेको तर ती हराउँदै गएको उनले बताइन् ।

करिब २०४ वर्षअघिको हतियार उपलब्ध गराइदिएकामा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले राउतलाई पुरस्कारस्वरूप २ हजार रुपैयाँ प्रदान गरे। नगरपालिकाले उनलाई सम्मान गर्ने मेयर यादवले बताए। यता नेपाली सेनाको इन्द्र बक्स गण रौतहट पुरेन्वाको टोलीले समनपुरमा रहेको ऐतिहासिक स्तम्भ र पोखरीको अवलोकन तथा भ्रमण गरी सम्भाव्य अध्ययन सुरु गरेको छ। नेपाली सेनाको इतिहासमा समनपुरको स्थान महत्वपूर्ण रहेको स्थानीय पत्रकार संजय साह मित्र बताउछन् ।

उहाँका अनुसार ३१ डिसेम्बर १८१४ को मध्यरातमा समनपुर आइपुगेका अंग्रेजी फौजले नयाँ वर्ष मनाइरहँदा स्थानीयवासीले आक्रमण गरी तितरबितर पारेको इतिहासमा उल्लेख छ। स्थानीयवासीले अंग्रेज फौजको तोपसमेत नियन्त्रणमा लिएका थिए। उनीहरूले अंग्रेजहरूलाई लखेट्दै भारत विहारको वैशालीस्थित कौनहारा घाटसम्म पुर्याएका थिए । नेपाल र अंग्रेजबीच युद्ध भएर नेपाली पक्ष शानदार रूपमा विजयी भई नेपाली पक्षले अंग्रेजहरूबाट ठूलो संख्यामा हतियार प्राप्त गरेको इतिहासमा उल्लेख छ ।

समनपुरमा कप्तान सर्वजित थापाको नेतृत्वमा १२०० नेपाली फौज खटाइएको उल्लेख इतिहासमा पाइन्छ। त्यतिबेला पर्सा, बारा र रौतहटमा रहेको नेपाली फौजको नेतृत्व कर्णेल रणवीर सिंहले गरेका थिए । नेपाल-अंग्रेज युद्धकालीन तरबार फेला परेपछि स्थानीयवासी आफ्नो ठाउँको ऐतिहासिक परिचय खुल्दै गएकामा खुशी छन् ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्