Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुनमा प्रदेश प्रहरी भर्ना थाल्ने प्रदेश २ सरकारको तयारी, यस्तो छ प्रमाणिकरण भएको ऐन

जनकपुरधाम : प्रदेश २ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्ने बाटो खुलेको छ । गत असोज २७ गते प्रदेशसभाबाट विवादका बीच बहुमतले पारित प्रदेश प्रहरी ऐन प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि प्रदेश सरकारलाई प्रदेश प्रहरी भर्ना गर्ने बाटो खुलेको हो । आईतवार प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको सँविधानको धारा २०१ को उपधारा (२) बमोजिम उहाँले ऐनलाई प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताउनुभयो । प्रदेश सरकारले गत असार १६ गते प्रदेश सभामा पेश गरेको प्रदेश प्रहरी ऐन सम्बन्धी विधेयक विवादका बिच असोज २७ गते बहुमतले पारित भएको थियो ।

के छ प्रदेश प्रहरी ऐनमा ? 

प्रदेश २ को प्रदेश प्रहरी ऐनमा जम्मा १४ परिच्छेद, १०२ वटा दफा र २ वटा अनुसूची रहेको छ । एनमा प्रदेश प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था संघीय कानुनले निर्धारण गरे बमोजिम हुने व्यबस्था ऐनको दफा ९९ मा उल्लेख गरिएको छ ।

साथै दफा १०० का अनुसार प्रदेश लोक सेवा गठन नभएसम्म प्रदेश लोक सेवा आयोगले गर्ने भनी तोकेका काम, कर्तव्य लोक सेवा आयोगले गर्ने उल्लेख छ ।  त्यस्तै, दफा ६ को उपदफा १ मा प्रदेश प्रहरीको संगठन संरचना र प्रहरी कर्मचारीहरुको संख्य नेपाल सरकारको सहमतीमा प्रदेश सरकारले तोके बमोजिम हुने व्यवस्था छ ।

प्रदेश प्रहरीको प्रमुखको रुपमा राजपत्राकिंत बिशिष्ट श्रेणीको प्रहरी महानिरिक्षक रहने व्यवस्था छ । त्यस्तै खुला प्रतियोगिताद्वारा पुर्ति हुने पदहरु मध्येबाट ४५ प्रतिशत पद आरक्षित गरिएको छ ।

जसमा ४५ प्रतिशतलाई १०० प्रतिशत आधार मानी मधेशी ५४.३६, दलित १७.२९, मुस्लिम ११.५८, आदिवासी जनजाति ६.६१, थारु ५.२७ प्रतिशत र आर्थिक रुपले बिपन्न खस आर्य ४.८९ प्रतिशत छुट्याईएको छ । यसको प्रत्येक समुहमा ५० प्रतिशत महिलाका लागि आरक्षित गरिएको छ ।

फाल्गुन अन्ति साता प्रहरी भर्ना शुरु गरिने

अब छलफलमा रहेको लोक सेवा विधेयक २०७५ प्रदेशसभाबाट पारित भएपछि प्रदेश प्रहरी भर्ना प्रक्रिया शुरु गर्ने प्रदेश २ का आन्तरिक मामिला तथा कानुनु मन्त्री ज्ञानेन्द्र यादवले बताउनुभयो ।

उहाँका अनुसार आगामी फागुनको अन्तिम सातासम्म प्रहरी भर्ना खुल्ला गरिने छ । पहिलो चरणमा एकहजार प्रहरी भर्ना लिने तयारी रहेको कानुनमन्त्री यादवले बताउनुभयो ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्