Logo
२८ बैशाख २०८१, शुक्रबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत बिरुद्ध अस्ट्रेलियाको कप्तानी गर्दै ७ बर्षीय आर्ची, कोहलीको विकेट लिने चाहना

भ्रमणकारी टोलि भारत बिरुद्धको तेस्रो तथा बक्सिंग डे टेस्ट क्रिकेटका लागि अष्ट्रेलियाले आफ्नो टोलि सार्वजनिक गरेको छ। टिम पेनको कप्तानीमा रहेको टोलीमा ७ बर्षिय बालक आर्ची सिलरको नाम अटाए पछि यतिबेला सिलर चर्चामा आएका हुन्।

टोलीका प्रशिक्षक जस्टिन ल्यांगर र कप्तान टिम पेनले आइतबार सिलर अष्ट्रेलिया टेस्टको स्क्वाडको उप-कप्तान समेत बनेको घोषणा गरेका हुन्। शनिवार आफ्नो सातौँ जन्मदिन मनाएका सिलरलाई कप्तान टिम पेनले जन्मोत्सवककै समयमा उनी अष्ट्रेलियाको टेस्ट स्क्वाडमा परेको खबर दिएका थिए।

एडिलेड घर भएका सिलर लेग स्पिन बलिंग गर्ने गर्छन भने भविष्यमा अष्ट्रेलिया क्रिकेट टोलीको कप्तान बन्ने उनको सपना उनको रहेको छ। एडिलेडमा सम्पन्न भारत बिरुद्धको पहिलो टेस्टका समयमानै सिलर अष्ट्रेलियायी क्याम्पमा रहेका थिए।

७ बर्षीय आर्ची सिलर पछिल्लो केहि समय यता अष्ट्रेलियामा चर्चामा रहेका छन्। एक कुराकानीका क्रममा उनले आफ्नो लेग स्पिनले भारतीय कप्तान बिराट कोहलीको विकेट लिन सक्ने बताएपछि उनको चर्चा थप चुलिएको थियो।३ महिनाको उमेरमा मुटुको रोगबाट ग्रसित बनेपछि आर्चिलाई उनको परिवारले मेलबर्न ल्याएर ७ घण्टा लामो शल्यक्रिया गराएको थियो। मुटुको धड्कन समयमा नधड्किने र भल्बले काम नगर्ने भएपछि आर्चीले अत्याधिक समय अस्पतालको शैयामा बिताउनु पर्यो। लगातारको शल्यक्रिया पश्चात आर्चीको स्वास्थ्यमा क्रमिक सुधार आएको हो।

पछिल्लो डिसेम्बरमा आर्चीको परिवार उनको मुटुको तेस्रो पटक शल्यक्रिया गराउन मेलबर्न आएको थियो। यसपटक भने चिकित्सकले सो शल्यक्रियाको परिणाम जस्तोपनि हुन सक्ने बताएका थिए। लामो समयसम्म अस्पतालमा बसेकै कारण आर्ची आफ्नो विद्यालय र साथीहरुबाट टाढा हुनपुगेका हुन्।

त्यसकै केहि दिन पश्चात आर्चिका बुबाले उनलाई आफ्नो इच्छा सोधपुछ गर्दा आर्चिले अष्ट्रेलियन टोलीको कप्तानी गर्न चाहेको बताएका थिए। आर्चीको सो प्रतिक्रिया र उनले भोगेको शारीरिक अस्वस्थतालाई मध्यनजर गर्दै अष्ट्रेलियन टोलिले आर्चीको चाहना पुरा गर्ने मौका दिएको हो।

टोलीमा आर्चिको उपस्थितिका बिषयमा बोल्दै कप्तान टिम पेनले भने, “आर्च र उनको परिवारले धेरै अफ्ट्यारो समय भोग्नु परेको छ। उनकै चाहना पुरा गर्न हामीले टोलीमा बोलाएका हौँ र उनी जस्तो कोहि हामीसंगै रहंदा हामीलाई समेत खुसि लाग्छ।”

पेनले थपे, “हामी प्राय आफ्नो जीवनको मात्र ख्याल राख्छौं तर आर्ची जस्तो कोहि हाम्रो समुहमा जोडिन्छ भने त्यसले सिंगो टोलीलाई नै थप उर्जा दिन्छ। उनी टोलीमा रहेकोमा म खुसि छु र बक्सिंग डे टेस्टमा उनको डेब्यु देख्न इच्छुक रहेको छु।”

भारत बिरुद्धको तेस्रो टेस्ट डिसेम्बर २६ बाट मेलबर्नमा सुरु हुँदैछ। ४ टेस्टको शृंखला १-१ को बराबरीमा रहेको छ। एडिलेडमा सम्पन्न पहिलो टेस्टमा भ्रमणकारी टोलि भारतले ३१ रनको जित हात पार्दा दोस्रो टेस्टमा भने अष्ट्रेलिया १४६ रनले बिजयी भएको थियो।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्