Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिच्छवीकालीन बस्तीको सम्पदा संरक्षणमा अध्ययनकर्ताहरूको जोड

भक्तपुर : मध्यपुर थिमी नगरपालिका-५ स्थित ऐतिहासिक दिगुलीमा रहेका सम्पदाहरुको संरक्षण गर्न अध्ययनकर्ताहरुले जोड दिएका छन् । उनीहरुले दिगुली टोलमा रहेका मठ मन्दिरहरु भन्दा अग्ला आधुनिक घरहरु निर्माण विस्तार हुँदै गएका कारण त्यस क्षेत्रका सम्पदाहरुको अस्तित्व साँघुरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मध्यपुर थिमीको दिगुली टोल लिच्छवीकालीन बस्ती भएको भन्दै यसको संरक्षणका लागि दुई पोखरीदेखि हात्तिमहांकाल सम्मको सडकमा ढुंगा छाप्नुपर्ने सुझावसमेत दिएका छन् ।

ख्वप इन्जिनियरिङ कलेजको वास्तुकला शास्त्रमा अध्ययनरत चौथो वर्षका ५ जना विद्यार्थी र शिक्षकहरुको समूहले ऐतिहासिक तथा परम्परागत दिगुली टोल तथा शिवा टोलको इन्जिनियरिङ सम्बन्धी गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उनीहरुले दिगुली टोलमा रहेका सम्पदाहरुको विस्तृत नक्सासमेत प्रदर्शन गरे ।

प्राध्यापक डा। मोहनमूर्ति पन्त, प्रा।कृष्णगोपाल प्रजापति, प्रा. रशिसलाल श्रेष्ठ, विद्यार्थीहरू अणु प्रजापति, हिना श्रेष्ठ, निसज श्रेष्ठ, श्रीया श्रेष्ठ र रामदेवी प्रजापति संयुक्त टोलीले दिगुली टोलको अध्ययनका क्रममा ऐतिहासिक पक्ष, प्राचीनकालका व्यवस्थित शहरीकरणका नमुना समेत प्रस्तुत गरेका थिए ।

मध्यपुर इन्जिनियरिङ समाजद्वारा आयोजित कार्यक्रममा प्राडा. पन्तले २३ वर्षअघि पिएचडी गर्ने क्रममा मध्यपुर थिमीमा गरेको सोधपत्रको प्रतिवेदन थिमीको परम्परागत शहर बस्ती र ऐतिहासिक चिनारीहरु प्रस्तुत गरको थियो ।

मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले ख्वप इञ्जिनियरिङ कलेजका विद्यार्थीको अध्ययन प्रतिवेदन नपाको लागि मार्ग निर्देशनको रुपमा रहने बताए । उनले मध्यपुरका विभिन्न ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाहरुको अध्ययनका लागि नपाले आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Dec 23, 2018

प्रतिक्रिया दिनुहोस्