अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिर जनकपुरमा भव्य स्वागत
जनकपुरधाम : बुधबार हुने रामजानकी विवाह महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट आएका जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ ।
भारतको अयोध्यालगायत विभिन्न स्थानबाट विवाह महोत्सवमा सहभागी हुन जन्तीका रूपमा आएका साधुसन्त धनुषाको जटही नाका हुँदै जनकपुरधाम आइपुगेका हुन् ।
भारतबाट आएका जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । जन्ती तथा अतिथिलाई जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गरेका थिए ।
जटही नाकाबाट नगराइन नगरपालिकाको नगराइनस्थित विद्यालयमा भारतीय जन्ती तथा अतिथिलाई केहीबेर विश्राम गराइएको थियो ।
भारतीय अतिथि नगराइन नगरपालिका पुगेपछि त्यहाँका स्थानीयसमेत स्वागत सत्कारमा जुटेका थिए । यसअघि भारतको अयोध्याबाट महोत्तरी नाकाबाट जन्ती आउने गरे पनि यस वर्ष भने धनुषा नाकाबाट आएका हुन् ।