Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध हट्दै

काठमाडौँ : युरोपेली सङ्घ (इयू) ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हटाउने भएको छ । हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गर्नुभएको हो ।

उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखिराख्नुपर्ने औचित्य के हो भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउनेछ ।

” सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो । उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ । यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो ।

मन्त्री अधिकारीले इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । निगमका सन्दर्भमा उठेका विषयको छानबिन गरी जनतासमक्ष ल्याइने उल्लेख गर्दै उहाँले निगमलाई कमजोर पार्ने खेलमा कोही पनि लाग्न नहुने धारणा राख्नुभयो ।

 

प्रकाशित मिति: Dec 5, 2018

प्रतिक्रिया दिनुहोस्