Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर-अयोध्यालाई जुम्ल्याहा सहर घोषणा गरिदै, योगी आउँदा समझदारीमा हस्ताक्षर हुने

काठमाडौं : नेपालको जनकपुर र भारतको अयोध्याबीच जुम्ल्याहा सहर घोषणाको तयारी भइरहेको थाहा भएको छ । भारतीय सञ्चार माध्यमहरुले मंगलबार जनाएअनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम-जानकी विवाहमहोत्सवका अवसरमा यही मंसिर २६ गते गर्ने जनकपुर भ्रमणका क्रममा यो समझदारीमा हस्ताक्षर हुन लागेको हो । यसैबीच जनकपुरका एक पत्रकार टोलीसँगको भेटमा उपनि उक्त कुुरा खुलेको छ ।

योगी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूतका रुपमा नेपाल आउन लागेको समाचारहरुमा जनाइएको छ । योगीले आइतबार यस सम्बन्धमा नेपालबाट आफूलाई भेट्न गएको एक प्रतिनिधिमण्डलसँग जुम्ल्याहा सहरको बारेमा हस्ताक्षर हुने जानकारी गराएको भारतीय टेलिभिजन च्यानल एनडीटीभीमा खबर छ ।

उनले भारतमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो नेपाल भ्रमण साँस्कृतिक हुने र त्यसले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न मद्दत गर्ने जनाइएको छ । जनकपुरमा विवाहमहोत्सव सम्बन्धी कार्यक्रम आउँदो शुक्रबारबाट नै सुरु हुनेछ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले मंगलबार बिहान बाह्रखरीसँगको कुराकानीमा जिल्लामा सुरक्षाको व्यवस्था चुस्त पारिएको बताए ।

प्रदेश सरकारसँगको समन्वयमा सबै काम राम्रोसँग भइरहेको जनाउँदै विवाहमहोत्सवको कार्यक्रम यही मंसिर २१ गतेबाट सुरु भइ २७ गते सम्म जारी रहने उल्लेख गरे । जनकपुर र अयोध्यालाई जुम्ल्याहा नगरका रुपमा अघि बढाउने समझदारीमा हस्ताक्षर हुने विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए ।

उनको भनाइ थियो,‘‘नगर प्रमुखबीच पनि नियमित सम्पर्कमा नै रहेर काम भइरहेको छ । तर यो विषयमा भने मलाई जानकारी छैन ।’’

यसअघि पनि नेपालका विभिन्न सहरहरुको सम्बन्ध विश्वका विभिन्न शहरहरुसँग नेपाल सरकारको स्वीकृति लिएर भगिनी सम्बन्ध स्थापना गर्ने चलन रहेको थियो । जुम्ल्याहा सहरको रुपमा विकास गर्ने बारेमा भने नेपालका हकमा यसपाली पहिलो पटक सुनिएको हो ।

पहिल्यै भगिनी सम्बन्ध
जनकपुर र अयोध्याबीच जुम्ल्याहा सहर (ट्विन सिटी) को सम्बन्ध राख्ने बारेमा कुनैपनि कुरा नभएको जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश ढुंगानाले बताएका छन् । मंगलबार भारतीय सञ्चार माध्यममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणका क्रममा सो सम्बन्धी समझदारी हुन लागेको जनाएका थिए ।

ढुंगानाले जनकपुर र अयोध्याबीच यसअघिदेखि नै भगिनी सम्बन्ध (सिस्टर सिटी) सम्बन्ध स्थापना भएको र त्यसको नवीकरण भइसकेकोले अहिले समझदारी हुने कुराका बारेमा आफूलाई जानकारी नभएको बताए । सिस्टर सिटी र ट्विन सिटीको सम्बन्ध उस्तै खालको भएपनि अहिले भारतीय सञ्चारमाध्यममा एकतर्फी रुपमा कसरी यस्तो प्रचार भयो भन्ने बारेमा भने नेपाली पक्षले कुनै पनि जानकारी नभएको बताएको छ ।

प्रकाशित मिति: Dec 4, 2018

प्रतिक्रिया दिनुहोस्