Logo
३० बैशाख २०८१, आईतबार
(November 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा अध्यक्षमण्डलको बैठक स्थगित, ‘महतो संयोजक हुँदा लड्डु बाँडिएको होइन’

काठमाडौं : राजपा अध्यक्षमण्डलको सोमबार बस्ने भनेको बैठक स्थगित भएको छ । अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको स्रोतले बताएको छ ।

यादव गृहजिल्ला सिरहामा छन् । राजपाका अध्यक्षमण्डलका सबै ६ जना सदस्य उपस्थित भएपछि मात्रै बैठक बस्ने परम्परा छ । कुनै निर्णय गर्नुपर्दा अध्यक्षमण्डलका सबै सदस्यको सहमति चाहिने भएकाले यादव अनुपस्थित हुने अवस्था आएपछि बैठक नै स्थगित गरिएको एक नेताले बताए ।

पछिल्लो समय राजपाभित्र विवाद बढ्दै गएको छ । अध्यक्षमण्डलको संयोजकबाट नेता महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक भएपछि विवाद बढेको हो ।

यसैबीच,

जनकपुरधाम : प्रदेश २ का सामाजिक विकास मन्त्री एवं राजपा उपाध्यक्ष नवलकिशोर साहले पार्टी अध्यक्षमण्डलका संयोजक फेरिएपछि लड्डु बाँडिएको हल्ला निराधार रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यस्तो ‘कपोलकल्पित’ प्रचारबाट आफू दुःखी भएको उल्लेख गरेका छन् । उनले यस्तो भ्रामक प्रचार नगरिदिन सबैसँग आग्रहसमेत गरेका छन् ।

राजेन्द्र महतो पार्टी अध्यक्षमण्डलको संयोजक भएपछि समर्थकहरूले लड्डु बाँडेर खुसियाली मनाएको चर्चा चलिरहेका बेला उपाध्यक्ष साहको यो भनाइ आएको हो ।

अध्यक्षमण्डलका सदस्यको बहुमतका आधारमा केही दिनअघि नेता महन्थ ठाकुरलाई संयोजकबाट हटाएर महतोलाई संयोजक बनाइएको थियो ।

 

 

प्रकाशित मिति: Nov 26, 2018

प्रतिक्रिया दिनुहोस्